
पटना, ३१ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका वरिष्ठ नेता, पूर्व राज्यसभा सांसद तथा एसआईएस समूहका संस्थापक डा. रविन्द्र किशोर सिन्हा (आरके सिन्हा) को शनिबार साँझ पटनास्थित दीघा घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई अश्रुपूर्ण आँखाले अन्तिम बिदाइ दिइयो। उनका छोरा तथा भाजपा नेता ऋतुराज सिन्हाले दागबत्ती दिएका थिए।
डा. सिन्हाको शुक्रबार नोएडास्थित आफ्नै निवासमा निधन भएको थियो। अन्त्येष्टिअघि उनको पार्थिव शरीर अन्तिम दर्शनका लागि पटनास्थित ‘अन्नपूर्णा’ निवासमा राखिएको थियो। त्यहाँ राजनीतिक तथा व्यावसायिक क्षेत्रका विभिन्न प्रतिष्ठित व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
बिहारका मुख्यमन्त्री सम्राट चौधरी तथा उपमुख्यमन्त्री विजय चौधरी पनि निवास पुगेर दिवङ्गत सिन्हाप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनीहरूले छोरा ऋतुराज सिन्हासँग भेट गरी समवेदना प्रकट गरेका थिए।
उनको निधनप्रति शोक व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेताहरू पनि पुगेका थिए। बिहारकी पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवकी पत्नी राबडी देवीले पनि निवास पुगेर श्रद्धाञ्जली अर्पण गरिन्।
यसैगरी केन्द्रिय मन्त्री गिरिराज सिंह र नित्यानन्द राय, बिहार सरकारका मन्त्री दिलीप जायसवाल, मिथिलेश तिवारी र विजय सिन्हा, विधायक सञ्जीव चौरसिया तथा पटना साहिबका सांसद रविशंकर प्रसादलगायत विभिन्न नेताहरूले अन्तिम दर्शन गरी शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
राजनीतिसँगै व्यावसायिक क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाएका डा. आरके सिन्हा एसआईएस समूहका संस्थापक तथा अध्यक्ष थिए। सफल उद्यमीका रूपमा परिचित उनले राज्यसभा सांसदका रूपमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनले राजनीतिक तथा औद्योगिक क्षेत्रमा शोक छाएको छ।
हिन्दुस्थान समाचार / बिशाल