दिल्ली: मङ्गोलपुरीको जुत्ता कारखानामा भीषण आगलागी, चार मजदुरको मृत्यु, दुई जना गम्भीर घाइते
सांकेतिक


नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। राजधानी दिल्लीको मङ्गोलपुरी औद्योगिक क्षेत्रमा शुक्रबार राति जुत्ता निर्माण गर्ने कारखानामा भीषण आगलागी हुँदा चार जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सञ्जय गान्धी मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

प्राप्त जानकारीअनुसार, मङ्गोलपुरी औद्योगिक क्षेत्रको फेज 1 स्थित जुत्ता कारखानामा शुक्रबार राति करिब ९ बजेर ३२ मिनेटमा आगलागी भएको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै दिल्ली अग्निशमन सेवा र पुलिस टोली घटनास्थल पुगेका थिए। आगो निभाउन तथा मजदुरहरूको उद्धार गर्न करिब २० वटा दमकल परिचालन गरिएको थियो।

अग्निशमन अधिकारीहरूका अनुसार, आगो शुरुमा कारखानाको भूमिगत तलामा लागेको थियो। त्यसपछि निस्किएको बाक्लो धुवाँ भवनका माथिल्ला तलासम्म फैलिएको थियो। धुवाँका कारण कारखानाभित्र रहेका मजदुरहरूलाई बाहिर निस्कन कठिन भयो।

उद्धार अभियानका क्रममा दमकलकर्मीहरूले कारखानाभित्रबाट छ जना मजदुरलाई बेहोस अवस्थामा बाहिर निकालेका थिए। उनीहरूलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले चार जनालाई मृत घोषणा गरे। अन्य दुई जनाको उपचार भइरहेको छ। एक जना मजदुर तेस्रो तलाको सिँढीनजिक भेटिएका थिए भने अन्य पाँच जनालाई चौथो तलाबाट उद्धार गरिएको थियो।

अधिकारीहरूका अनुसार, उक्त भवन जुत्ता उत्पादन तथा भण्डारण केन्द्रका रूपमा प्रयोग भइरहेको थियो। दमकलकर्मीहरूले लामो प्रयासपछि भूमिगत तलामा लागेको आगो नियन्त्रणमा लिएका थिए। त्यसपछि भवनभित्र पुनः आगलागी हुन नदिन खोजी तथा शीतलीकरण अभियान सञ्चालन गरियो।

आउटर जिल्लाका डीसीपीले आगलागीको वास्तविक कारण पत्ता लगाउन जॉंच भइरहेको बताएका छन्। पुलिसले कारखाना सञ्चालकलाई सोधपुछका लागि बोलाएको छ। साथै ठेकेदार तथा कारखानाका कर्मचारीहरूसँग पनि सोधपुछ भइरहेको छ।

घटनाका बेला कारखानाभित्र कति मजदुर कार्यरत थिए र त्यहाँ पर्याप्त अग्नि सुरक्षा व्यवस्था गरिएको थियो वा थिएन भन्ने विषयमा पुलिसले जॉंच गरिरहेको छ। प्रारम्भिक रूपमा विद्युत् सर्ट सर्किट, अग्नि सुरक्षा व्यवस्थामा सम्भावित लापरवाहीलगायत पक्षलाई ध्यानमा राखेर जॉंच अघि बढाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande