

नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। ओडिशाको झारमुन्डा स्थित ओडिशा आदर्श विद्यालयकी छात्रा सौम्यश्री थानापतिले दिल्लीमा आयोजित दुईदिने नेशनल साइन्स सेमिनार २०२६ को उपाधि जितेकी छन्। दिल्ली स्थित राष्ट्रिय विज्ञान केन्द्रमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा देशका ३४ वटा राज्य तथा केन्द्रशासित प्रदेशका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विजेता सौम्यश्रीलाई ट्रफी, प्रमाणपत्र र ४८ हजार रुपियाँको छात्रवृत्ति प्रदान गरियो।
आयोजनाको पहिलो दिन शुक्रवार यस वर्षको सेमिनारको विषय ‘इन्डियन इनर्जी बास्केट २०४७ : सम्भावना र चुनौती’ रहेको थियो। यसमा विद्यार्थीहरूले भारतको भविष्यमा आवश्यक पर्ने ऊर्जा, ऊर्जाका वैकल्पिक स्रोत, प्राविधिक नवाचार तथा दिगो ऊर्जा सुरक्षा जस्ता महत्त्वपूर्ण विषयमा आफ्ना विचार प्रस्तुत गरे। नेशनल साइन्स सेमिनारको आयोजना साल १९८२ देखि प्रत्येक वर्ष भारत सरकारको संस्कृति मन्त्रालय अन्तर्गत नेशनल काउन्सिल अफ साइन्स म्युजियम्स (एनसीएसएम) ले गर्दै आएको छ। यसको उद्देश्य विद्यालयका विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोण, आलोचनात्मक सोच तथा प्रभावकारी सञ्चार कौशलको विकास गर्नु हो।
प्रतियोगितामा सौम्यश्री थानापतिले पहिलो स्थान हासिल गरिन् भने अन्य नौ जना विद्यार्थीलाई उपविजेता घोषित गरियो। सबै उपविजेतालाई ट्रफी, प्रमाणपत्र तथा २४ हजार रुपियाँको छात्रवृत्ति प्रदान गरियो। यसरी प्रतियोगितामा कूल २ लाख ६४ हजार रुपियाँको छात्रवृत्ति वितरण गरियो।
यस बाहेक दादरा तथा नगर हवेली एवं दमन तथा दीवकी दिब्यांशी परिडा, महाराष्ट्रकी शरवरी श्रीधर बैत, बिहारका समीर कुमार, पश्चिम बङ्गालका ऋषन गुप्ता, त्रिपुराकी श्राबस्ती भट्टाचार्जी, चण्डीगढ़की नवसीरत कौर, गुजरातकी स्वरा परेश पटेल, अरुणाचल प्रदेशका रुबू ड्यानियल तथा हरियाणाका अक्षत कुमार मिश्र उपविजेता बने।
विजेता तथा उपविजेताहरूको छनोट विभिन्न शैक्षिक तथा वैज्ञानिक संस्थानसँग आबद्ध विशेषज्ञहरूको टोलीले गरेको थियो। यसमा डा. सुमन्त बोरठाकुर, डा. सुषमा एम. गिरीपुन्जे, डा. मानस प्रतिम दास, प्रा. प्रमोद कुमार तथा प्रा. अनिल कुमार सहभागी थिए। टोलीका सदस्यहरूले विद्यार्थीहरूको विषयगत ज्ञान, प्रस्तुति, वैज्ञानिक बुझाइ तथा विचारका आधारमा मूल्याङ्कन गरेका थिए।
सेमिनारको उद्घाटन दीप प्रज्ज्वलन गरेर गरियो। पेट्रोलियम तथा प्राकृतिक ग्यास नियामक बोर्ड (पीएनजीआरबी) का अध्यक्ष डा. अनिल कुमार जैन प्रमुख अतिथिका रूपमा सहभागी भए। यसैगरी नीति आयोगका ऊर्जा सल्लाहकार राजनाथ राम विशिष्ट अतिथिका रूपमा उपस्थित भए।
एनसीएसएमका महानिदेशक केएस मुरलीले राष्ट्रिय विज्ञान संगोष्ठीले चार दशकभन्दा बढ़ी समयदेखि विद्यार्थीहरूमा वैज्ञानिक जिज्ञासा, आलोचनात्मक सोच तथा संवाद कौशललाई प्रोत्साहन गर्दै आएको बताए। यस वर्षको विषयले युवाहरूलाई ऊर्जा सुरक्षा, प्राविधिक नवाचार तथा दिगो विकासको महत्त्व बुझ्ने अवसर प्रदान गर्ने उनले बताए।
दिल्ली स्थित राष्ट्रिय विज्ञान केन्द्रका निदेशक विजय शंकर शर्माले यस आयोजनाले देशभरिका प्रतिभाशाली विद्यार्थीहरूलाई राष्ट्रिय महत्त्वका विषयमा आफ्ना विचार साझा गर्ने मञ्च प्रदान गरेको बताए। यसले विद्यार्थीहरूलाई नवीकरणीय ऊर्जा, उदीयमान प्रविधि तथा जिम्मेवार ऊर्जा खपतबारे बुझाइ विकास गर्न मद्दत पुग्ने उनले बताए।
कार्यक्रमको समापन समारोह पनि ३० अक्टोबरमा आयोजना गरिएको थियो। यसमा नयाँ दिल्ली स्थित इन्टर युनिभर्सिटी एक्सेलेरेटर सेन्टर (आईयूएसी) का निदेशक प्रा. अविनाश चन्द्र पाण्डे प्रमुख अतिथि तथा टेरीको विद्युत् तथा नवीकरणीय ऊर्जा विभागका वरिष्ठ निदेशक अजय कुमार सक्सेना विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
श दिल्ली स्थित राष्ट्रिय विज्ञान केन्द्रका प्रधान क्युरेटर मोइनुद्दीन अन्सारीले धन्यवाद ज्ञापन गरेसँगै कार्यक्रमको समापन भयो।
/ बिशाल