
नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। केन्द्र सरकारले डिजेल र विमान इन्धन (एटीएफ) को निर्यातमा लाग्दै आएको अप्रत्याशित लाभ कर (विन्डफल गेन ट्याक्स) बढाएको छ। यद्यपि पेट्रोलको निर्यातमा लाग्ने उक्त शुल्क भने घटाएर शून्यमा झारिएको छ। नयाँ शुल्क व्यवस्था ३१ अक्टोबरदेखि लागू भई आगामी १५ दिनसम्म कायम रहनेछ।
केन्द्रिय वित्त मन्त्रालयले शनिबार जारी गरेको अधिसूचनाअनुसार, विमान इन्धन (एटीएफ) को निर्यातमा लाग्ने शुल्क प्रतिलिटर १० रुपियाँ ५० पैसाबाट बढाएर ११ रुपियाँ पुर्याइएको छ। त्यसैगरी, डिजेलको निर्यातमा सडक तथा पूर्वाधार उपकर र विशेष अतिरिक्त उत्पादन शुल्कसहित लाग्ने कर प्रतिलिटर ८ रुपियाँ ५० पैसाबाट बढाएर ११ रुपियाँ ५० पैसा कायम गरिएको छ।
मन्त्रालयका अनुसार, आगामी पन्ध्र दिनका लागि पेट्रोलको निर्यातमा लाग्ने शुल्क प्रतिलिटर २ रुपियाँ ५० पैसाबाट घटाएर शून्य गरिएको छ। तर, घरेलु बजारमा बिक्री हुने पेट्रोल तथा डिजेलमा लाग्ने विद्यमान शुल्क दरमा भने कुनै परिवर्तन गरिएको छैन।
पश्चिम एसियामा जारी सङ्कटबीच घरेलु बजारमा इन्धनको उपलब्धता बढाउने उद्देश्यले सरकारले अप्रत्याशित लाभ कर लगाएको हो।
उल्लेखनीय छ, पश्चिम एसियामा बढ्दो तनावका बीच केन्द्र सरकारले गत २७ मार्चदेखि डिजेल र विमान इन्धनको निर्यातमा शुल्क लगाएको थियो। उक्त शुल्क प्रत्येक १५ दिनमा समीक्षा गरी संशोधन गरिँदै आएको छ। पछि १६ मईदेखि पेट्रोलको निर्यातमा पनि कर लगाइएको थियो।