


उज्जैन, ३१ अक्टोबर (हि.स.)। बलिउड तथा दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री तमन्ना भाटिया शनिबार बिहान मध्य प्रदेशको उज्जैनस्थित विश्वप्रसिद्ध श्री महाकालेश्वर मन्दिर पुगेर भगवान महाकालको दर्शन गरेकी छन्। उनले आफ्नी आमा तथा परिवारका अन्य सदस्यहरूसँगै भगवान महाकालको भस्म आरतीमा सहभागिता जनाइन्।
परम्परागत साडीमा मन्दिर पुगेकी तमन्नाले नन्दी सभागृहमा बसेर करिब दुई घण्टासम्म भस्म आरतीको दर्शन गरिन्। उनी शनिबार बिहान करिब ४ बजी आमासहित परिवारका सदस्यहरूसँग मन्दिर पुगेकी थिइन्। आरतीपछि उनले नन्दी महाराजको कानमा आफ्नो मनोकामना व्यक्त गर्दै भगवान महाकालको आशीर्वाद लिइन्।
यस अवसरमा मन्दिर समितिका तर्फबाट अभिनेत्री तथा उनको परिवारलाई सम्मान गरिएको थियो। दर्शनपछि आफ्नो अनुभव साझा गर्दै तमन्नाले बिहानको भस्म आरतीमा सहभागी हुन पाउनु आफ्ना लागि अत्यन्तै आनन्द र सौभाग्यको विषय भएको बताइन्। आमालाई पनि भगवान महाकालको दर्शन गराउने उद्देश्यले आफू मन्दिर आएको र उनीसँगै दर्शन गर्न पाउँदा निकै खुशी लागेको उनले बताइन्।
यसैबीच, कार्तिक महिनाको कृष्ण पक्षको षष्ठी तिथिका अवसरमा शनिबार बिहान ४ बजी मन्दिरका ढोका खोलिएपछि भगवान महाकालको विशेष भस्म आरती सम्पन्न भएको थियो। मन्दिरका ढोका खुलेलगत्तै पुजारीहरूले गर्भगृहमा विराजमान देवीदेवताको पूजा गरेपछि भगवान महाकालको जलाभिषेक गरेका थिए। दूध, दही, घिउ, मह, चिनी तथा फलफूलको रसबाट तयार पारिएको पञ्चामृतले अभिषेक गरिएको थियो।
मन्त्र उच्चारणका बीच भगवान महाकाललाई भाङ, चन्दन तथा विभिन्न आभूषणले दिव्य शृङ्गार गरिएको थियो। ज्योतिर्लिङ्गलाई चाँदीको ॐ तथा बेलपत्र अङ्कित मुकुट, रुद्राक्षका माला र सुगन्धित फूलले सजाइएको थियो। भगवानको मस्तकमा त्रिपुण्ड र त्रिशूल सुशोभित गरिएको थियो। साथै चाँदीको शेषनाग मुकुट तथा मुण्डमालाले पनि शृङ्गार गरिएको थियो।
शृङ्गार तथा पूजापछि भगवान गणेश, माता पार्वती र कार्तिकेयको पूजा गरिएको थियो। त्यसपछि भगवान महाकाललाई फलफूल तथा मिठाईको भोग चढाइएको थियो। कर्पूर आरती र नैवेद्य अर्पणपछि महा निर्वाणी अखाडाका तर्फबाट भगवान महाकाललाई पवित्र भस्म अर्पण गरिएको थियो।
भस्म आरतीका क्रममा मन्दिर परिसरमा मन्त्र उच्चारण तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न भएका थिए। भस्म अर्पणपछि भगवान महाकालले भक्तजनलाई दिव्य स्वरूपमा दर्शन दिएका थिए। विशेष आरतीमा ठूलो सङ्ख्यामा श्रद्धालु सहभागी भएका थिए। भक्तजनहरूले नन्दी महाराजको दर्शन गर्दै उनको कानमा आफ्ना मनोकामना व्यक्त गरेका थिए। यस क्रममा भगवान महाकालको जयजयकारले मन्दिर परिसर भक्तिमय बनेको थियो।
अभिनेत्री तमन्ना भाटियाको मन्दिर भ्रमण पनि श्रद्धालुहरूबीच चर्चाको विषय बनेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी