
नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। देशभर शनिवार लौह पुरुष सरदार वल्लभभाई पटेलको १५१औँ जयन्ती मनाइयो। यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदील गायत धेरै वरिष्ठ नेताहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। देशमा यस दिनलाई ‘राष्ट्रिय एकता दिवस’ का रूपमा पनि मनाइन्छ।
राष्ट्रपति द्रौपदी मुर्मू लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले राष्ट्रपति भवनको गणतन्त्र मण्डप तथा दिल्ली स्थित सरदार पटेल चोकमा सरदार वल्लभभाई पटेललाई पुष्पाञ्जली अर्पण गरे। यस क्रममा राष्ट्र निर्माण तथा देशको एकीकरणमा उनले पुर्याउनु भएको ऐतिहासिक योगदानको स्मरण गरियो।
उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल एक्स मार्फत सरदार पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै उनको असाधारण जीवन राष्ट्रिय एकता, दृढ़ सङ्कल्प तथा निःस्वार्थ सेवाको शक्तिको प्रमाण भएको बताए। उनले राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माणमा सरदार पटेलको महान् योगदानलाई देशले कृतज्ञतापूर्वक स्मरण गरिरहेको बताए। उनको विरासतले आज पनि एकता र प्रगतिको दिशामा भारतलाई मार्गदर्शन गरिरहेको उनले उल्लेख गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पटेलको स्मरण गर्दै उनले आफ्नो सम्पूर्ण जीवन सशक्त, समृद्ध र समर्थ भारतको निर्माणमा समर्पित गरेको बताए। प्रधानमन्त्रीले भारत माताको सेवामा सरदार पटेलले गरेको त्याग र समर्पण विकसित तथा आत्मनिर्भर भारतको निर्माणका लागि प्रेरणाको ठूलो स्रोत भएको बताए।
लोकसभा अध्यक्ष ओम बिरलाले सरदार पटेलको सपना स्वतन्त्र भारतको निर्माण गर्नु मात्र नभई विविधता देशको शक्ति र राष्ट्रिय एकता पहिचान बन्ने एउटा सशक्त, आत्मनिर्भर तथा एकताबद्ध राष्ट्रको स्थापना गर्नु पनि रहेको बताए। उनले सरदार पटेलको जयन्तीमा मनाइने राष्ट्रिय एकता दिवसले देशको एकता, अखण्डता तथा सुरक्षाप्रति प्रत्येक नागरिकको कर्तव्यको स्मरण गराउने बताए। उनले सरदार पटेलका आदर्शहरू आत्मसात् गर्दै सशक्त, समरस तथा विकसित भारतको निर्माणमा योगदान पुर्याउन जनतासँग अपिल गरे।
रक्षामन्त्री राजनाथ सिंहले स्वतन्त्रता सङ्ग्राममा सरदार पटेलको योगदान तथा स्वतन्त्रतापछि सयौँ रियासतहरूलाई भारतमा एकीकरण गर्ने कार्य उनको अदम्य साहस, अटल सङ्कल्प तथा राष्ट्रप्रतिको समर्पणको उदाहरण भएको बताए। उनले सरदार पटेलको दूरदर्शी नेतृत्व, असाधारण सङ्गठनात्मक क्षमता तथा राष्ट्रसेवाको भावनाले आगामी पुस्तालाई सधैँ प्रेरित गरिरहने बताए।
केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले सरदार पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै उनले आफ्नो अदम्य साहस तथा दूरदर्शिताका माध्यमबाट विभिन्न रियासतमा विभाजित भारतलाई एकताको सूत्रमा बाँधेर सशक्त राष्ट्रको जग बसालेको बताए। उनले सरदार पटेलले अखिल भारतीय सेवाहरूको स्थापना गरेर देशको प्रशासनिक व्यवस्थालाई बलियो आधार प्रदान गरेको बताए। खेड़ा तथा बारडोली सत्याग्रहका माध्यमबाट किसानहरूको अधिकारका लागि उनले गरेका सङ्घर्ष जनसेवा र नेतृत्वको अतुलनीय उदाहरण भएको उनले उल्लेख गरे। अमित शाहले सरदार पटेलको त्याग, समर्पण तथा देशभक्तिले प्रत्येक नागरिकलाई ‘एक भारत, श्रेष्ठ भारत’ निर्माणका लागि प्रेरित गरिरहने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी