
नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले शनिवार नयाँ दिल्ली स्थित कर्तव्य भवन-१ मा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र रसायन तथा मल मन्त्रालयका अधिकारी एवं कर्मचारीहरूलाई राष्ट्रिय एकता दिवसको शपथ दिलाए। लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्तीका अवसरमा उक्त कार्यक्रम आयोजना गरियो।
यस अवसरमा अधिकारी तथा कर्मचारीहरूले राष्ट्रको एकता, अखण्डता र सुरक्षा कायम राख्ने प्रतिबद्धता दोहोर्याए। सरदार वल्लभभाई पटेलले देशको एकता र अखण्डता सुदृढ़ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको विरासतले आज पनि राष्ट्र निर्माण र राष्ट्रिय एकताका लागि प्रेरणा प्रदान गर्दै आएको छ।
कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण विभागकी सचिव पुण्य सलिला श्रीवास्तव, रसायन तथा मल मन्त्रालय अन्तर्गत मल विभागका सचिव रजत कुमार मिश्रा र रसायन तथा पेट्रोरसायन विभागका सचिव तेजवीर सिंह सहभागी भए।
यस बाहेक, स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) का महानिदेशक डा. राजीव बहल, स्वास्थ्य सेवा महानिदेशक डा. लवनीश जी. कृष्णा तथा राष्ट्रिय स्वास्थ्य प्राधिकरण (एनएचए) का प्रमुख कार्यकारी अधिकारी सुनील कुमार बर्नवाल लगायत दुवै मन्त्रालयका वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष ३१ अक्टोबरमा सरदार वल्लभभाई पटेलको जयन्तीका अवसरमा मनाइन्छ। यसको उद्देश्य देशको एकता, अखण्डता र सुरक्षाप्रति नागरिकहरूको प्रतिबद्धता सुदृढ़ गर्नुका साथै राष्ट्रिय एकताको महत्त्वलाई उजागर गर्नु हो।
हिन्दुस्थान समाचार / भवानी थामी