
चेन्नई, ३१ अक्टोबर (हि.स.)। सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्दै यातायात नियमको कडाइका साथ पालना सुनिश्चित गर्ने उद्देश्यले चेन्नई महानगरमा शनिबार ‘शून्य सहनशीलता दिवस’ मनाइँदैछ। यस अवसरमा चेन्नई महानगर यातायात पुलिसले शहरका प्रमुख सडकहरूमा विशेष जाँच अभियान सञ्चालन गर्ने भएको छ। नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कडा कारबाही गरिने पुलिसले जनाएको छ।
चेन्नईमा दैनिक हजारौँ मानिस दुईचक्के तथा चारचक्के सवारीसाधनमार्फत आवतजावत गर्छन्। सडक दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्था सुधार गर्ने उद्देश्यले पुलिसले निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
यस विशेष अभियानअन्तर्गत शहरका प्रमुख तथा व्यस्त सडकहरूमा पुलिसले निगरानी बढाउनेछ। हेल्मेट तथा सिट बेल्ट प्रयोग नगर्ने, यातायात सङ्केत उल्लङ्घन गर्ने र अन्य नियम पालना नगर्ने सवारी चालकविरुद्ध मुद्दा दर्ता गरी कडा कारबाही गरिनेछ।
यातायात पुलिसले दुईक्के सवारी चालकलाई अनिवार्य रूपमा हेल्मेट लगाउन तथा चारचक्के सवारी चालकलाई सिट बेल्ट प्रयोग गर्न आग्रह गरेको छ। साथै, निर्धारित गतिसीमाभित्र रहेर सवारी चलाउन, यातायात सङ्केतको पालना गर्न तथा तीव्र गति र लापरवाहीपूर्वक सवारी नचलाउन सचेत गराएको छ। सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न पनि पुलिसले आग्रह गरेको छ।
चेन्नई महानगर यातायात पुलिसले आम नागरिकहरूलाई अभियानमा सहयोग गर्दै यातायात नियमको जिम्मेवारीपूर्वक पालना गर्न अनुरोध गरेको छ। सडक दुर्घटनामा नियन्त्रण कायम गर्नुका साथै सहरमा सुरक्षित तथा दुर्घटनारहित आवागमन सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य रहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी