‘मेरो सफलतामाथि शंका गर्नेहरूलाई गलत साबित गर्नु थियो’, कीर्तिले सुनाइन् संघर्षको कथा
कीर्ति शर्मा


नयाँ दिल्ली, 0४ अक्टोबर (हि.स.)। एसियाली खेलकुद २०२६ मा स्वर्ण पदक जित्ने भारतीय महिला रिकर्भ टोलीकी सदस्य कीर्ति शर्माले आफ्नो सफलताबारे आफूलाई आलोचना गर्नेहरूलाई गलत साबित गर्ने अठोट लिएको र त्यसका लागि आवश्यक सबै कुरा गर्ने निर्णय गरेको बताएकी छन्।

कीर्ति शर्मा, अंकिता भगत र कुमकुम मोहोद सम्मिलित भारतीय महिला रिकर्भ टोलीले एसियाली खेलकुद २०२६ मा इतिहास रचेको छ। टोलीले फाइनलमा शक्तिशाली दक्षिण कोरियालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो।

हरियाणाको रितौली गाउँको किसान परिवारमा जन्मिएकी कीर्तिले बाल्यकालदेखि नै स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपरेको थियो। ग्रामीण तथा रूढिवादी वातावरणमा उनलाई खेलकुदमा करियर बनाउन नहुने भन्दै विभिन्न कुरा सुनाइन्थ्यो। तर उनले हार मानिनन्।

कीर्तिले भारतीय खेल प्राधिकरण (साई) मिडियासँगको कुराकानीमा बाल्यकालदेखि नै आफ्नो स्वास्थ्य राम्रो नरहेको बताइन्। तीरन्दाजीमा सफल हुन सक्ने आफ्नो क्षमतामाथि शंका गर्ने धेरै मानिसका नकारात्मक कुरा सुन्नुपरेको उनले बताइन्। शारीरिक रूपमा पूर्ण रूपमा स्वस्थ नरहेकाले शुरुआतमा भारी पाउन्डको धनुष उठाउनसमेत कठिन हुने गरेको उल्लेख गर्दै उनले आलोचकहरूलाई गलत साबित गर्न आफूले आवश्यक सबै कुरा गर्ने अठोट लिएको बताइन्।

भारतीय टोलीले एसियाली खेलकुद २०२६ मा इतिहास रच्दै उक्त लक्ष्य हासिल गर्‍यो। फाइनलमा १० पटककी च्याम्पियन दक्षिण कोरियालाई ५-३ ले पराजित गर्दै भारतीय टोलीले महिला रिकर्भ टोली स्पर्धामा स्वर्ण पदक जित्यो।

१९ वर्षीया कीर्तिले कठिन समयमा साथ दिएको र आफ्नो सफलताको आधार तयार गर्न सहयोग गरेकोमा परिवार, विशेषगरी आफ्ना पिता विजय शर्मालाई श्रेय दिइन्।

कीर्तिले भनिन्, “मेरा पिता किसान हुनुहुन्छ, तर उहाँले सधैँ मेरो साथ दिनुभयो। आर्थिक कठिनाइका बावजुद उहाँले मेरो खेल करियरसँग सम्बन्धित सबै खर्च व्यहोर्नुभयो।”

उनका अनुसार, धेरै मानिसले उनका पितालाई आफू छोरी भएकाले उनलाई खेलकुदमा जान दिन नहुने बताएका थिए। खराब स्वास्थ्यका कारण आफू सफल हुन सक्ने क्षमतामाथि समेत उनीहरूले शंका गरेका थिए। तर उनका पिताले सधैँ आफूमा विश्वास गरेको कीर्तिले बताइन्।

हजारीबागस्थित साई प्रशिक्षण केन्द्रमा अभ्यास गर्ने तीरन्दाज कीर्तिले एसियाली खेलकुदमा सफलताको बाटो तय गर्न सहयोग गरेको सम्पूर्ण श्रेय भारतीय खेल प्राधिकरण र आफ्ना प्रशिक्षक उद्धव सिंहलाई दिइन्।

कीर्तिले भनिन्, “मेरो परिवार र प्रशिक्षकले सधैँ मेरो साथ दिएका छन् र म उत्कृष्ट गर्न सक्छु भन्ने विश्वास दिलाएका छन्। मैले साई हजारीबागमा परीक्षण दिएँ, किनकि मेरा प्रशिक्षक उद्धव सिंहको त्यहाँ सरुवा भएको थियो। शुरुआती वर्षहरूमा म उद्धव सरले सञ्चालन गर्नुभएको एउटा एकेडेमीमा अभ्यास गर्थें।”

उनले आफू चार वर्षअघि साई हजारीबाग गएको र त्यसयता आफ्नो करियरमा उल्लेखनीय सुधार आएको बताइन्। आफूले हासिल गरेका उपलब्धिको सम्पूर्ण श्रेय भारतीय खेल प्राधिकरण र आफ्ना प्रशिक्षकलाई दिने उनले बताइन्।


 rajesh pande