इरानले स्टारलिंक सञ्चालनको विषयमा नर्वेका राजदूतलाई बोलायो
सांकेतिक।


तेहरान, 0५ अक्टोबर (हि.स.)। इरानले स्टारलिंक सञ्चालनको विषयमा नर्वेका राजदूतलाई बोलाएर स्पष्टीकरण मागेको छ। इरानका केही क्षेत्रमा बिना अनुमति सञ्चालन भइरहेको स्टारलिंक भू-उपग्रह इन्टरनेट सेवामाथि ओस्लोले निरन्तर कुनै कारबाही नगरेको भन्दै विरोध जनाउन यो कदम चालिएको हो।

अल जजिराको रिपोर्टअनुसार, इरानको सरकारी प्रेस टीभीले जारी गरेको विवरणमा इरानी विदेश मन्त्रालयका महानिर्देशक मोहम्मद हसननेजाद पिरकुहीले आइतबार नर्वेका राजदूत पाल ब्योर्नस्टाडलाई बोलाएर आधिकारिक विरोधपत्र हस्तान्तरण गरेको जनाइएको छ। पिरकुहीले अमेरिका र इजरायलमाथि स्टारलिंकको प्रयोग गरी इरानविरुद्ध हस्तक्षेपकारी एजेन्डा अघि बढाउन योजनाबद्ध रूपमा दुरुपयोग गरिरहेको आरोप लगाए। उल्लेखनीय छ, स्टारलिंक अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्बन्धित छ।

उनले नर्वेले संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार संघमा स्टारलिंक सेवाका लागि दर्ता गर्ने देशका रूपमा आफ्नो कानुनी जिम्मेवारी पूरा गर्न असफल भएको आरोप लगाए। उनले भने, “इरानी भूभागमा बिना अनुमति भइरहेको स्टारलिंक प्रसारण रोक्न आवश्यक कदम चाल्नु नर्वे सरकारको जिम्मेवारी हो।”

उनले नर्वेले इरानका अनुरोधलाई बेवास्ता गरेको आरोप लगाउँदै यसबाट इरानको राष्ट्रिय सुरक्षा र क्षेत्रीय सार्वभौमसत्तामाथि खतरा बढेको बताए।


 rajesh pande