नेपाली कांग्रेसको महाधिवेशन सफलताको कामना गर्दै भाजपा र कांग्रेसद्वारा शुभकामना सन्देश
भाजपा अध्यक्ष नितिन नवीन और कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़के


काठमाडौं, 0५ अक्टोबर (हि.स.)। नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्दै भारतका सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस दुवैले शुभकामना सन्देश पठाएका छन्।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगेले नेपाली कांग्रेसका सभापति गगन थापालाई छुट्टाछुट्टै पत्र पठाउँदै महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।

भाजपा अध्यक्ष नितिन नवीनले पठाएको पत्रमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन दिएको निमन्त्रणाका लागि धन्यवाद व्यक्त गरिएको छ। उनले नेपाली कांग्रेसको नेतृत्व तथा सबै सदस्यलाई सफल महाधिवेशनको शुभकामना दिँदै यो अवसरले नेपाली कांग्रेसलाई थप सुदृढ़ बनाउनुका साथै नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउने बताएका छन्।

नवीनले हालै नेपालमा आएको प्राकृतिक विपत्तिको पनि उल्लेख गरेका छन्। उनले कठिन परिस्थितिमा भारत नेपालका प्रभावित जनताको साथमा दृढतापूर्वक उभिएको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत राहत तथा पुनर्स्थापनाका जारी प्रयासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।

भाजपा अध्यक्षले पत्रमा आफ्नो पार्टी र नेपाली कांग्रेसबीच लामो समयदेखि रहँदै आएको सम्बन्धको पनि उल्लेख गरेका छन्। उनले दुवै दलबीचको दलगत सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खरगे पत्रमा गगन थापाले दिएको निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायजस्ता विषयमा विचार-विमर्श गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरिएको छ।

खरगेले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मरण गर्दै भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि आपसी समझदारी, एकता र सहकार्यको लामो इतिहास रहेको बताएका छन्। उनले दुवै दल तथा दुवै देशबीचको सम्बन्धलाई महत्वपूर्ण बताएका छन्।

खरगेले नेपाली कांग्रेसका नेतृत्व, पदाधिकारी तथा सबै प्रतिनिधिलाई सफल र फलदायी महाधिवेशनको शुभकामना दिँदै दुवै दल तथा दुवै देशबीचको मित्रता आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande