नेपाली कांग्रेसको महाधिवेशनमा नेताहरूको सन्देश : राष्ट्रिय मुद्दामा पक्ष-विपक्षभन्दा माथि उठेर सहकार्य आवश्यक
नेपाली कांग्रेस महाधिवेशन


काठमाडौं, 0५ अक्टोबर (हि.स.)। नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष र विपक्षको सीमाभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेताहरूले लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणजस्ता विषयमा राजनीतिक दलहरूबीच संवाद र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र जसपा नेपालका नेता शरतसिंह भण्डारीलगायत विभिन्न दलका नेताहरूले राष्ट्रिय मुद्दामा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

रास्वपालाई छाडेर अधिकांश दलका नेताहरूले वर्तमान व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि उत्पन्न खतरातर्फ ध्यानाकर्षण गराए। रास्वपाले भने लोकतन्त्रमाथि खतरा उत्पन्न भए त्यसको रक्षा जनताले गर्ने बताएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए। उनले राजनीतिक अधिकारलाई नागरिकले आफ्नो जीवनमा अनुभूति गर्ने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रति जनताको विश्वास कमजोर हुने बताए। थापाले कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच तथा लोकतन्त्र र सेवा प्रवाहबीच पुलको काम गर्नुपर्ने बताए।

उनले भने, “कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच पुलको काम गर्छ। लोकतन्त्र र सेवा प्रवाहबीच पनि कांग्रेसले पुलको काम गर्नेछ। पुल भत्कियो भने विश्वास पनि भत्किनेछ।”

रास्वपा सभापति रवि लामिछानेले देशसँग सम्बन्धित प्रश्नका अगाडि राजनीतिक दल र झन्डाबीचको भिन्नता गौण हुने बताए। उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “दलको कुरा होइन, जब देश र राष्ट्रको कुरा आउँछ, त्यसबेला दल र झन्डा अलग हुँदैन।”

लामिछानेले सरकारलाई लिएर भइरहेको चर्चाबारे पनि टिप्पणी गरे। उनले सरकार जनमतबाट बनेको भन्दै सरकार ढल्ने कुरा गर्न नहुने बताए। उनले भने, “यो सरकार ढल्ने छैन र जब सरकार ढल्ने छैन भने सरकार ढल्ने कुरा गर्नेहरू नै बेहोस भएर ढल्नेछन्।”

माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसभित्र अझै अलग रहेका नेता तथा समूहलाई साथमा लिएर अघि बढ्न आग्रह गरे। उनले कांग्रेसलाई अझ एकताबद्ध बनाएर अघि बढाउनुपर्ने र नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए।

प्रचण्डले शान्ति सम्झौतासँग सम्बन्धित केही काम अझै पूरा हुन बाँकी रहेको बताए। ती काम पूरा नगरिए देश पुनः द्वन्द्वतर्फ जाने जोखिम रहेको चेतावनी दिँदै उनले भने, “शान्ति सम्झौताका केही विषय अझै पूरा हुन बाँकी छन्। यो पूरा भएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो काम गगन थापाले पनि पूरा गर्नुपर्नेछ।”

एमाले महासचिव शंकर पोखरेलले लोकतान्त्रिक आन्दोलनमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले मिलेर संघर्ष गरेको इतिहास स्मरण गरे। उनले एमाले अझै पनि कांग्रेससँग मिलेर काम गर्न तयार रहेको बताए। लोकतन्त्रको रक्षा र देशको स्वरूप परिवर्तनका लागि दुवै दलले पुनः मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले भने, “राणा शासन, पञ्चायती व्यवस्था र ज्ञानेन्द्र शाहको शासनविरुद्ध हामीले मिलेर आन्दोलन गरेका थियौँ। अब फेरि मिलेर लोकतन्त्र र देशको स्वरूप परिवर्तन गर्ने समय आएको छ। लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ।” यद्यपि उनले लोकतन्त्रका लागि संघर्ष गरेको कांग्रेसले अब लोकतन्त्रको रक्षा गर्न कसरी अघि बढ्छ भन्ने प्रश्न पनि उठाए।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आधुनिक लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले खेलेको भूमिकाको स्मरण गरे। उनले राजनीतिक व्यवस्थामा परिवर्तन भए पनि देशको आर्थिक अवस्थामा अपेक्षित सुधार हुन नसकेको बताए। देशको विकासका लागि स्पष्ट र दीर्घकालीन योजना निर्माण तथा त्यसको कार्यान्वयनका विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा आवश्यक रहेको उनको भनाइ थियो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश आफ्नो बाटोबाट विचलित भएको दाबी गरे। उनले गलत विषयतर्फ ध्यानाकर्षण गराउँदा सामाजिक सञ्जालको प्रयोग गरिने गरेको र सत्तामा केवल अनुहार परिवर्तन गर्दैमा राजनीतिक प्रवृत्ति परिवर्तन नहुने बताए। लिङ्देनले भने, “जब सम्म यो देश आफ्नो बाटोमा फर्किँदैन, म भनिरहनेछु। यी छ महिनाले देखाइसकेको छ कि केवल मानिस परिवर्तन गर्दैमा समस्याको समाधान हुँदैन।”


 rajesh pande