
नयाँ दिल्ली, 0६ अक्टोबर (हि.स.)। राज्यसभाका उपसभापति हरिवंशको नेतृत्वमा भारतीय संसदीय प्रतिनिधिमण्डलले अफ्रिकी देश तान्जानियाको अरुशामा आयोजित १५३औँ अन्तरसंसदीय संघ (आईपीयू) सभाको पहिलो दिन विभिन्न बैठक तथा कार्यक्रममा सहभागिता जनाउँदै विभिन्न देशका प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेको छ।
राज्यसभा सचिवालयले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार, सोमवार सभाको पहिलो दिन भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूले आईपीयूका विभिन्न समिति तथा समूहका बैठकमा सहभागिता जनाए। लोकसभा सदस्य डा. सञ्जय जायसवालले आईपीयूको स्वास्थ्य समितिको सत्रमा सहभागिता जनाए। हरिवंश तथा प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले एशिया–प्रशान्त भूराजनीतिक समूहको बैठकमा पनि भाग लिए। लोकसभा सदस्य तथा आईपीयू कार्यकारी समितिकी सदस्य अपराजिता सारंगीले समूहका सदस्यहरूलाई कार्यकारी समितिका पछिल्ला गतिविधि तथा पहलहरूबारे जानकारी गराइन्।
महिला सांसद मञ्चको सत्रमा लोकसभा सदस्य कमलजीत सहरावतले ‘सबैका लागि समावेशी सामाजिक विकास : दिव्याङ्ग व्यक्तिहरूको अधिकार तथा सशक्तीकरण प्रवर्द्धनका लागि संसदीय रणनीति’ विषयमा भएको छलफलमा सहभागिता जनाउँदै भारतको पक्ष प्रस्तुत गरिन्। लोकसभा सदस्य बिजुली कलिता मेधीले ‘महिला नेतृत्व’ विषयमा आयोजित दोस्रो सत्रमा सहभागिता जनाइन्।
राज्यसभा सदस्य डा. सस्मित पात्राले एशियाई संसदीय सभाको बैठकमा सहभागिता जनाए भने लोकसभा सदस्य लता वानखेडेले आतंकवाद तथा हिंसात्मक उग्रवाद नियन्त्रण सम्बन्धी आईपीयूको उच्चस्तरीय सल्लाहकार समूहको बोर्ड बैठकमा सहभागिता जनाइन्।
भारतीय प्रतिनिधिमण्डलले अस्ट्रेलियाली प्रतिनिधिसभाका सभामुख मिल्टन डिक तथा तान्जानियाको संसदका सभामुख मूसा अजान जुंगुसँग द्विपक्षीय बैठक पनि गऱ्यो। ती बैठकमा पारस्परिक हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भयो।
तान्जानियाको संसदले १५३औँ आईपीयू सभाको उद्घाटनका लागि औपचारिक समारोह आयोजना गऱ्यो। तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले समारोहलाई सम्बोधन गर्दै १५३औँ सभाको शुरूआतको घोषणा गरिन्।
हरिवंशसँगै अपराजिता सारंगी, अनुराग सिंह ठाकुर, एनके प्रेमचन्द्रन तथा डा. सस्मित पात्राले उद्घाटन समारोहमा सहभागिता जनाए। उनीहरूले तान्जानियाका विदेशमन्त्री तथा अन्य मन्त्रीहरूसँग पनि कुराकानी गरे।
हिन्दुस्थान समाचार / भवानी थामी