
मथुरा, ०७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मथुरा जिल्लास्थित वृन्दावनको चैतन्य विहार सेक्टर-२ मा रहेको पाणिनि संस्कृत गुरुकुलमा मंगलबार राति पानीको ट्याङ्की सफा गर्ने क्रममा विषालु ग्यासको चपेटामा परी चार विद्यार्थीको मृत्यु भएको छ भने एक अन्य विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि गुरुकुलका सञ्चालक फरार भएका छन्।
पुलिसका अनुसार, गुरुकुल सञ्चालन भइरहेको उक्त स्थानमा एक वर्षअघिसम्म ‘उमा कमला’ नामको अतिथि गृह सञ्चालनमा थियो। हाल आशीष शर्माले उक्त भवन भाडामा लिएर गुरुकुल सञ्चालन गरेका थिए, जहाँ करिब १०० विद्यार्थी बसेर संस्कृत अध्ययन गरिरहेका छन्। मंगलबार राति करिब १० बजी गुरुकुल सञ्चालक आचार्य आशीषले विद्यार्थीहरूलाई पछाडितर्फ रहेको करिब १२ फिट गहिरो बन्द पानीको ट्याङ्की सफा गर्न लगाएका थिए।
पुलिसका अनुसार, निर्देशन पाएपछि पाँच विद्यार्थी सफाइका लागि ट्याङ्कीभित्र पसेका थिए। सबैभन्दा पहिले मनु कटारेले ट्याङ्कीको ढकनी खोलेर भित्र प्रवेश गरेका थिए। त्यहाँ विषालु ग्यासका कारण उनको स्वास्थ्य बिग्रिन थालेपछि उनलाई बचाउने क्रममा अन्य विद्यार्थीहरू विशू शर्मा (१९, मेरठ), आर्यन पाण्डेय (१६, प्रयागराज) र देवांश शर्मा (१७) पनि एक-एक गर्दै ट्याङ्कीभित्र पसेका थिए र उनीहरू पनि विषालु ग्यासको चपेटामा परेका थिए।
विद्यार्थीहरूको चिच्याएको आवाज सुनेपछि छिमेकमा बस्ने कृष्ण तिवारी घटनास्थल पुगेका थिए। उनले अन्य आचार्य तथा विद्यार्थीहरूको सहयोगमा सबैलाई ट्याङ्कीबाट बाहिर निकाले।
सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले विद्यार्थीहरूलाई रामकृष्ण मिशन सेवा आश्रम तथा सय शय्याको अस्पतालमा पुर्याएको थियो। त्यहाँ चिकित्सकहरूले मनु कटारे (२२, जबलपुर), विशू शर्मा (१९, मेरठ), आर्यन पाण्डेय (१६, प्रयागराज) र देवांश शर्मा (१७) लाई मृत घोषित गरे। रुद्राक्ष नाम गरेका विद्यार्थी अस्पतालमा उपचाररत छन्।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्लाधिकारी चन्द्रप्रकाश सिंह, नगर आयुक्त ओजस्वी राज, अतिरिक्त जिल्लाधिकारी पंकज वर्मा र नगर पुलिस अधीक्षक राजीव कुमार सिंहलगायत वरिष्ठ अधिकारीहरू तत्काल घटनास्थल पुगेका थिए। प्रशासनले घटनाको कडाइका साथ जॉंच गर्न आदेश दिएको छ भने फरार सञ्चालकको खोजी शुरु गरेको छ।
दुर्घटनापछि गुरुकुलका अन्य व्यक्तिहरूले संस्थानको पहिचान लुकाउने उद्देश्यले संस्थानको बोर्ड हटाएको घटना पनि सार्वजनिक भएको छ। यस विषयमा पनि जॉंच भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी