
नयाँ दिल्ली, ०७ अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाह र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनसेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन्। शाहले गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्मको मोदीको यात्रालाई स्मरण गर्दै उनको शासन तथा विकाससम्बन्धी कार्यहरूमा जोड दिएका छन्।
गृहमन्त्री शाहले आज सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “शानदार प्रधानमन्त्री श्री @ नरेन्द्र मोदीजीलाई सेवा र समर्पणका २५ वर्ष पूरा गरेकोमा हृदयदेखि बधाई। यो यात्रा अथक मेहनत, दृढ संकल्प र देशलाई सर्वोच्च प्राथमिकतामा राख्ने जीवन लक्ष्यले भरिएको छ। यही दिन ७ अक्टोबर, २००१ मा मोदीजीले गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको थियो। त्यसयता मुख्यमन्त्री र प्रधानमन्त्रीका रूपमा सेवा, संघर्ष तथा समर्पणको उहाँको निरन्तर यात्रा गरिबहरूको कल्याण, महिलाको सशक्तीकरण, युवाको प्रगति तथा समाजका हरेक वर्गको समृद्धिको पर्याय बनेको छ।”
उनले लेखेका छन्, “सेवाका २५ वर्षमा मोदीजीले जनकेन्द्रित नीति, त्यसको उचित कार्यान्वयन, निर्णय लिन सक्ने दृढता, पारदर्शिता तथा परिणामको सुनिश्चिततामार्फत शासनको परिभाषा नै परिवर्तन गर्नुभएको छ। साथै उहाँले ‘कामको राजनीति’ को आदर्श पनि स्थापित गर्नुभएको छ।”
गुजरातको मुख्यमन्त्रीका रूपमा प्रधानमन्त्री मोदीको कार्यकाललाई स्मरण गर्दै शाहले भूकम्पबाट ध्वस्त कच्छको पुनर्निर्माण गरेको, ज्योतिग्राम योजनामार्फत विद्युत् आपूर्ति बढाएको तथा सौर्य ऊर्जाको पहल र भाइब्रेन्ट गुजरातमार्फत लगानी तथा उद्योगलाई प्रोत्साहन गरेको बताएका छन्। उनले कृषिमा ८ प्रतिशतभन्दा बढीको विकास दर हासिल गरिएको पनि उल्लेख गरे। मोदी प्रधानमन्त्री बनेपछि शासनको यही दृष्टिकोणलाई राष्ट्रिय स्तरमा थप विस्तार गरिएको शाहले बताएका छन्।
शाहले लेखेका छन्, “प्रधानमन्त्रीका रूपमा यही दृष्टिकोणलाई अझ अगाडि बढाइयो। अन्तरिक्षदेखि समुद्रसम्म र विश्व मञ्चदेखि आन्तरिक सुरक्षासम्म भारतले नयाँ उपलब्धि हासिल गरेको छ। जनताको जीवनमा पनि ठूलो परिवर्तन आएको छ। २५ करोड मानिस गरिबीको रेखाबाट बाहिर आएका छन्। लाखौँ परिवारले पक्की घर, ५ लाख रुपियाँसम्मको स्वास्थ्य बीमा सुविधा, उज्ज्वला ग्यास जडान तथा हरेक घरमा धाराबाट पानीको सुविधा प्राप्त गरेका छन्।”
उनले भनेका छन्, “आज श्री मोदीजीको नेतृत्वमा भारत तीव्र गतिमा बढिरहेको अर्थतन्त्रसँगै उत्पादन, डिजिटल भुक्तानी, नयाँ उद्यम, अर्धचालक, रक्षा उत्पादन तथा नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको छ। युद्ध र अस्थिरताको यस समयमा भारत शान्ति तथा सद्भावका लागि महत्त्वपूर्ण विश्वव्यापी आवाजका रूपमा अघि आएको छ। श्री मोदीजीले करोडौँ देशवासीमा आत्मविश्वास जगाउनुभएको छ। ‘विकसित भारत’ को मन्त्र दिनुभएको छ र सन् २०४७ सम्म भारतलाई हरेक क्षेत्रमा नेतृत्वदायी राष्ट्र बनाउने संकल्प गराउनुभएको छ। उहाँको नेतृत्वमा सेवाका कार्यमा सहभागी बन्न पाउनु हामी सबैका लागि सौभाग्य र गर्वको विषय हो।”
सिक्किमका मुख्यमन्त्री पीएस तामाङले पनि प्रधानमन्त्री मोदीलाई जनसेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन्। फेसबुक पोस्टमार्फत तामाङले लेखेका छन्, “माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले जनसेवामा २५ शानदार वर्ष पूरा गर्नुभएको ऐतिहासिक तथा महत्त्वपूर्ण अवसरमा म सिक्किमका जनता र सरकारको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”
उनले लेखेका छन्, “७ अक्टोबर, २००१ मा गुजरातको मुख्यमन्त्रीको पद सम्हालेदेखि भारतका माननीय प्रधानमन्त्रीका रूपमा सेवा गर्नेसम्म श्री मोदीजीको शानदार यात्राले निःस्वार्थ सेवा, सुशासन तथा राष्ट्र निर्माणप्रतिको उहाँको अटुट प्रतिबद्धता दर्शाउँछ। सिक्किमका जनता र सरकार माननीय प्रधानमन्त्रीबाट निरन्तर प्राप्त सहयोग, मार्गदर्शन, स्नेह तथा आशीर्वादका लागि अत्यन्त आभारी छन्। म उहाँलाई हार्दिक बधाई दिनुका साथै उहाँको सुस्वास्थ्य, शक्ति तथा दीर्घायुको कामना गर्दछु, ताकि उहाँले देशलाई अझ बढी प्रगति, समृद्धि, शान्ति तथा विश्वव्यापी नेतृत्वतर्फ अघि बढाइरहन सक्नुहोस्। हार्दिक बधाई तथा शुभकामनासहित...।”
हिन्दुस्थान समाचार / भवानी थामी