
कोलकाता, 07 अक्टोबर (हि.स.)। दिसम्बर २०२० मा डायमन्ड हार्बरको शिराकोलमा भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन राष्ट्रिय अध्यक्ष जेपी नड्डाको काफिलामाथि भएको आक्रमणको घटनामा लगभग ६ वर्षपछि नयाँ घटनाक्रम सार्वजनिक भएको छ। उस्ती थाना पुलिसले घटनाको पुनः अनुसन्धानका क्रममा स्थानीय तृणमूल कांग्रेस (टीएमसी) नेता ‘पुष्पा’ उर्फ जहाँगीर खानलाई पक्राउ गरेको छ। जहाँगीर यसअघि नै अर्को एउटा मुद्दामा जेलमा बन्द थिए। पुलिसले उनलाई यस मुद्दामा ‘शोन अरेस्ट’ गरेको जनाएको छ।
डायमन्ड हार्बरका अतिरिक्त पुलिस अधीक्षक (क्षेत्रीय) अभिषेक मजुमदारले बुधवार पक्राउको पुष्टि गर्दै घटनाको पुनः अनुसन्धानका क्रममा हालसम्म चार जना आरोपी पक्राउ परेको बताए।
पुलिस अनुसार, पुनः अनुसन्धानका क्रममा तौसिफ अहमद, आरिफ हुसैन र अनीसुर रहमानलाई पक्राउ गरी उनीहरूसँग सोधपुछ गरियो। सोधपुछका क्रममा प्राप्त बयानका आधारमा पुलिसले कथित रूपमा जहाँगीर खानको भूमिकाबारे जानकारी पायो। त्यसपछि उनलाई पनि यस घटनामा आरोपी बनाउँदै पक्राउ गरिएको हो।
पुलिसले पक्रा परेका आरोपीहरूसँग सोधपुछपछि चलाइएको खोजी अभियानका क्रममा दुई वटा अवैध हतियार र चार राउन्ड जीवित गोली जफत गरिएको जनाएको छ। हाल चारै जना आरोपी पुलिस हिरासतमा छन्। पुलिसले आक्रमणको सम्पूर्ण घटना तथा त्यसपछाड़ी कथित षड्यन्त्रका कड़ीहरूको अनुसन्धान गरिरहेको छ।
पुलिस अनुसार, जहाँगीर खानविरुद्ध साल २०१९ मा पनि एउटा मुद्दा दर्ता भएको थियो, जसमा उनले अदालतबाट राहत पाएका थिए। यस बाहेक फलता विधानसभा क्षेत्रमा निर्वाचनअघि पनि कलकत्ता उच्च अदालतबाट उनलाई राहत मिलेको थियो। पछि अदालतले ती कानूनी राहत फिर्ता लिएपछि पुलिसले उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो।
उल्लेखनीय छ, दिसम्बर २०२० मा जेपी नड्डाको डायमन्ड हार्बर भ्रमणका क्रममा उनको काफिलामाथि ढुंगामुढा तथा आक्रमण भएको थियो। त्यस समय यस घटनालाई लिएर भाजपा र राज्यको तत्कालीन सरकारबीच तीव्र राजनीतिक विवाद भएको थियो।
पुलिसले नड्डाको काफिलामाथि भएको आक्रमणको घटनामा पक्रा परेका चारै जना आरोपीसँग सोधपुछ गरी घटनामा उनीहरूको कथित भूमिका तथा अन्य सम्बन्धित पक्षबारे अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी