
गान्तोक, ०८ अक्टोबर (हि.स.)। '४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६' अन्तर्गत बिहीबार चौथो दिनको अन्तिम प्रि-क्वार्टरफाइनल खेलमा ब्ल्याक ईगल बनाम बनारस एफसी (बागपत) बीच सम्पन्न भयो। ब्ल्याक ईगलले प्रतिद्वन्द्वी दललाई ५-० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
राजधानीको पाल्जोर स्टेडियममा जारी राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा आज ब्ल्याक ईगलले बनारस एफसी (बागपत) माथि एकतर्फी जित दर्ता गर्यो। बनारस एफसी (बागपत) माथि धेरै अपेक्षा राखेर खेल हेर्न आएका फुटबल प्रेमीहरू निराश देखिए। बनारसका खेलाडीहरूले अपेक्षानुसार राम्रो प्रदर्शन गर्न सकेनन्। अर्कातिर, आफ्नो पहिलो खेलमा जीटीए एकादशलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको ब्ल्याक ईगलले बनारस एफसीमाथि शुरुदेखि दबाउ कायम राख्यो र एकतर्फी जित दर्ता गर्यो। ब्ल्याक ईगलले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ भने क्वार्टर फाइनलमा शिलङ लाजोङ एफसीसित भिडन्त हुनेछ।
ब्ल्याक ईगलका लागि आज पहिलो गोल मदन मन्डीले खेलको सातौँ मिनेटमा गरे। यसैगरी, राहुल पासवानले २५औँ मिनेटमा दोस्रो गोल थपे भने प्रनिल गुरुङले ५५औँ मिनेटमा तेस्रो गोल गरे। यसरी नै भिकी छेत्रीले ६१औँ मिनेटमा चौथो तथा सुराग छेत्रीले ६७औँ मिनेटमा पाँचौँ गोल गर्दै टोलीको ५-० को उत्कृष्ट जित सुनिश्चित गरे।
आज स्वास्थ्य तथा परिवार कल्याण विभागका अध्यक्ष फुर्बा शेर्पा मुख्य अतिथि, मेफेयरकी प्रबन्ध निर्देशक बिनिता शंकर र स्टार मलका निर्देशक रुपेश चौधरी विशिष्ट अतिथि तथा प्रशासनिक सुधार आयोगका अध्यक्ष एसडी ढकाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगिताअन्तर्गत शुक्रबार, ९ अक्टोबरमा पहिलो क्वार्टर फाइनल खेल हुनेछ। उक्त खेलमा सुदेवा दिल्ली र गोकुलम केरलाबीच दिउँसो २ बजी प्रतिस्पर्धा हुनेछ। गोकुलम केरलाले यसअघि थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल