बाढी प्रभावित नेपाललाई अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने
नेपाल और ऑस्ट्रेलिया के विदेश मंत्री


काठमाडौं, ०८ अक्टोबर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वोङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको छ। बिहीबार मेलबर्नमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचारविमर्श भएको हो।

विदेशमन्त्री खनालको सचिवालयका अनुसार, दुवै मन्त्रीले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र सुदृढ जनस्तरीय सम्बन्धमा आधारित सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा पनि जोड दिइयो।

भेटका क्रममा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गरिन्। उनले विपत्तिपछिको राहत, प्रारम्भिक पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालसँगै रहेको बताइन्।

वोङले बाढी तथा विपत्तिबाट प्रभावित नेपालका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर अर्थात् करिब १६१ करोड नेपाली रुपियाँ सहयोग उपलब्ध गराउने घोषणा गरिन्। यसअघि अस्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि १ करोड १० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। नयाँ सहयोग रकम राहत तथा प्रारम्भिक पुनर्स्थापनाका कार्यमा खर्च गरिनेछ।

विदेशमन्त्री खनालले संकटको समयमा अस्ट्रेलियाली सरकार तथा त्यहाँका जनताबाट प्राप्त शीघ्र र उदार मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले विपत्तिका बेला प्राप्त उक्त ऐक्यबद्धताले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने बताए।

भेटमा नेपाल तथा प्रशान्त क्षेत्रका देशहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा जोखिमबारे पनि छलफल भयो। खनालले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय नेतृत्वकारी भूमिकाको उपयोग गर्दै विशेषगरी आगामी कोप‌ ३१ को सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनका असमान तथा गम्भीर प्रभावलाई विश्वस्तरमा प्रभावकारी रूपमा उठाउन आग्रह गरे।

उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु उत्थानशील पूर्वाधार निर्माणमा नेपाल अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

दुवै मन्त्रीले शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल गरे। नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका संस्था स्थापना गर्ने तथा अस्ट्रेलियाली विश्वविद्यालयका सम्भावित शाखा क्याम्पस नेपालमा स्थापना गर्ने सम्भावनाबारे विचारविमर्श गरिएको थियो।

खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली प्रवासी समुदायले पुर्‍याउँदै आएको योगदानको उल्लेख गर्दै हालै भएका विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका बीच वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे।

भेटमा नेपाल अस्ट्रेलिया आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयलाई पनि प्राथमिकता दिइयो। व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम आवागमनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भयो।

यसका साथै दुई देशबीच सीधा हवाई सेवा सञ्चालन गर्ने विषयमा पनि कुराकानी भयो। दुवै पक्षले प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा दुई देशका जनताबीचको सम्पर्क विस्तारमा योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको तथा प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने बताइन्।

दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने तथा भेटमा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न नजिकबाट सहकार्य गर्ने सहमति जनाएका छन्। साथै, दुवै देशका जनताको पारस्परिक हितमा नेपाल-अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता दोहोर्‍याइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande