
काठमाडौँ, 0९ अक्टोबर (हि.स.)। नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (ब्रिटेन) को वेल्सस्थित ब्रेकनमा आयोजित क्याम्ब्रियन पेट्रोल अभ्यासमा लगातार तेस्रो वर्ष स्वर्ण पदक हासिल गरेको छ। यस अभ्यासमा ३५ देशका १३० अन्तरराष्ट्रिय टोलीले सहभागिता जनाएका थिए।
लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनूप शाहले जानकारी दिएअनुसार, अत्यन्त कठिन मानिने यस अभ्यासमा नेपाली सेनाले २०२४ सालदेखि लगातार तीन वर्ष स्वर्ण पदक जित्न सफल भएको छ। यस अभ्यासलाई ब्रिटेन सेनाको प्रमुख गस्ती अभ्यास मानिन्छ। यसको आयोजना मुख्यालय १६०औँ (वेल्स) ब्रिगेडले गरेको थियो।
टोली प्रबन्धक लेफ्टिनेन्ट कर्णेल निश्चल पाठक र पेट्रोल कमान्डर लेफ्टिनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा नेपाली सेनाको १० सदस्यीय टोली हाल ब्रिटेनमा रहेको छ। १९६० सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यस अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली सेनाले २०१४ सालदेखि सहभागिता जनाउँदै आएको छ। यस अवधिमा नेपाली सेनाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै अन्तरराष्ट्रिय मञ्चमा आफ्नो पहिचान स्थापित गरेको छ।
गत वर्ष पनि नेपाली सेनाले यस अभ्यासमा स्वर्ण पदक जितेको थियो। त्यसबेला कुल ११७ टोलीले सहभागिता जनाएका थिए, जसमा ३३ देशका ३५ अन्तरराष्ट्रिय टोली समावेश थिए। त्यसैगरी, २०२४ सालमा आयोजित क्याम्ब्रियन पेट्रोल अभ्यासमा पनि नेपाली सेनाले स्वर्ण पदक हासिल गरेको थियो। त्यस वर्ष कुल १२१ टोली सहभागी भएका थिए, जसमा ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली समावेश थिए।
यसअघि नेपाली सेनाले २०१७ र २०१९ सालमा पनि स्वर्ण पदक जितेको थियो। ब्रिटेन सेनाका अनुसार, यस अभ्यासमा सहभागीहरूले मानसिक तथा शारीरिक रूपमा कठिन चुनौतीहरूको सामना गर्नुपर्छ। यसमा सहभागी टोलीहरूको युद्धसम्बन्धी तयारी, सूचना सङ्कलन, घाइते तथा बिरामीहरूको व्यवस्थापनलगायत विभिन्न सैन्य दक्षताको परीक्षण गरिन्छ।
आठ चरणमा सञ्चालन हुने यस अभ्यासका क्रममा टोलीहरूले ४८ घण्टाभित्र हतियारसहित करिब ७० पाउन्ड (झन्डै ३२ किलोग्राम) तौलका उपकरण तथा अन्य आवश्यक सैन्य सामग्री बोकेर ६० किलोमिटर दूरी पार गर्नुपर्छ।
हिन्दुस्थान समाचार / बिशाल