
न्यूयोर्क, 0९ अक्टोबर (हि.स.)। न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शहरमा अमेरिकी आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट/आईसीई) का कारबाही बन्द गर्न माग गरेका छन्। ब्रोंक्समा आईसीईका एक अधिकारीले एक व्यक्तिमाथि गोली चलाएको घटनापछि उनले यस्तो माग गरेका हुन्। घटनापछि अस्पतालबाहिर आईसीईविरोधी प्रदर्शनकारी र न्यूयोर्क पुलिसबीच झडप भएको छ। घाइते व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ।
मेयर ममदानीले बिहीबार (स्थानीय समयअनुसार) सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज दिउँसो मार्बल हिलको एक आवासीय क्षेत्रमा आईसीईका एक अधिकारीले न्यूयोर्कका एक बासिन्दामाथि गोली चलाएका छन्। प्रारम्भिक समाचारअनुसार, अधिकारीहरूले उनको गाडीमा उनलाई र पाँच वर्षीय एक बालकलाई घेरेपछि धेरै राउन्ड गोली चलाएका थिए। यो गम्भीर अवस्था हो।”
उनले अगाडि लेखेका छन्, “मैले राष्ट्रपतिलाई फोन गरेको छु। हामीबीच कुराकानी हुँदा म उहाँसँग हाम्रो शहरमा आईसीईका सबै कारबाही बन्द गराउन माग गर्नेछु। म यो सबै चुपचाप हेरेर बस्न सक्दिनँ।” ममदानीले घाइते न्यूयोर्कवासी र उनको परिवारप्रति समवेदना व्यक्त गर्दै उनी शीघ्र स्वस्थ हुने कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल