
दार्जिलिङ, 01 नोभेम्बर (हि.स.)। दार्जिलिङ प्रेस गिल्डको आयोजनामा साहित्यकार तथा पत्रकार स्व. विजय बान्तवाप्रति शोक सभा क्लबका अध्यक्ष दीप गजमेर र वरिष्ठ पत्रकार सञ्जय विश्वासको विशेष उपस्थितिमा गरियो। प्रेस गिल्डका महासचिव विनय शंकरद्वारा सञ्चालन गरिएको यस शोक सभाको प्रथम चरणमा अध्यक्ष दीप गजमेर, वरिष्ठ पत्रकार सञ्जय विश्वास अनि जाफर अकिलको बाहुलीबाट स्व वान्तवाको तस्वीरमा दीप प्रज्ज्वलन, श्रद्धा अर्पण गरेपछि पत्रकार वान्तवाको चिर आत्मा शान्तिको निम्ति मौनधारण गरियो।
यसपछि पत्रकार, साहित्यकार तथा 'हिमगिरि' नेपाली समाचार पत्रका सम्पादक स्वर. विजय बान्तवाको साहित्यिक परिचय साथै पत्रकारिता क्षेत्रमाथि दिएको योगदान र उपलब्धिमाथि प्रकाश पार्दै पत्रकार, साहित्यकार सबिता थापा 'संकल्प' ले विस्तृत जानकारी गराए। उनले स्व. विजय बान्तवा केवल एक पत्रकार मात्र नभएर नेपाली भाषा, साहित्य, संस्कृति र समाजप्रति गहिरो समर्पण राख्ने बहुआयामिक स्रष्टा थिए भनी बताइन्। राङभाङ उपत्यका तथा पोख्रेबुङ क्षेत्रको नेपाली साहित्यिक यात्रालाई अघि बढाउने अग्रज सर्जकहरूको परम्परालाई आत्मसात् गर्दै उनले १९८० को दशकदेखि नेपाली साहित्यको साधनामा आफूलाई समर्पित गरेका थिए। सरल स्वभाव, मृदुभाषी व्यक्तित्व, गहिरो अध्ययनशीलता र साहित्यप्रतिको अगाध निष्ठा उनको विशेष पहिचान थियो।
सभामा उपस्थित अग्रज पत्रकार सञ्जय विश्वासले भने, पत्रकार वान्तवा कम बोल्ने तर काम धेरै गर्ने व्यक्तित्वका धनी थिए। उनीसँग आफ्नो थोरै भेटघाट भएको बताउँदै उनको कलमी विषयमाथि प्रकाश पारे। महासचिव विनय शंकरले पूर्व सदस्यहरुद्वारा स्व. वान्तवाको पत्रकारिता र साहित्यिक गतिविधिमाथि राखिएका विषयहरुमाथि समर्थन गर्दै अब उसो दार्जिलिङ प्रेस गिल्डको लाइब्रेरीमा स्व. वान्तवाका कृतिहरु राखिने र अन्य सदस्यहरुले पनि उनका जीवनका उपलब्धिहरुबारे जान्न र बुझ्न सकोस् भन्ने बताए।
सभाको अन्त्यमा अध्यक्ष दीप गजमेरले पत्रकार वान्तवाले दिन साहित्य तथा पत्रकारिता क्षेत्रमा दिएको अथक योगदान हामीमाझ संधैं स्मरणमा रही रहने छ।
आज आ-आफ्नो व्यस्ततालाई पन्छाएर सभामा उपस्थित सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दै सभा समापनको घोषणा गरे।
---------------
हिन्दुस्थान समाचार / हनोक