
खरसाङ, ०१ नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सार्वजनिक भवनमा गोर्खाल्याण्ड नौलो आन्दोलनसम्बन्धी जनचर्चा अभियान अन्तर्गत सभा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता मोहन तामाङले गरेका थिए भने सञ्चालन कुसाङ तामाङले गरेका थिए। प्रमुख वक्ताका रूपमा गोर्खाल्याण्ड संघर्ष समितिका मुख्य संयोजक विक्रमादि राईले सम्बोधन राखेका थिए।विक्रमादि राईले सम्बोधन गर्दै नगरपालिका चुनाउको घोर विरोध गर्ने बताए। उनले भने, “नगरपालिका चुनाउ गोली खाएर प्राण दिएर भए पनि रोकेर देखाउँछौँ।”उनका अनुसार, नगरपालिका चुनाउ भएमा पहाडमा चुनावी गतिविधि बढ्नेछ र त्यसले जीटीए चुनाउको बाटो पनि खोल्न सक्छ। उनले भारतीय जनता पार्टीले कुन नैतिक आधारमा नगरपालिका चुनाव गराउन खोजेको भन्दै प्रश्न उठाए।राईले गोर्खाल्याण्ड आन्दोलन सडकमा जिते पनि वार्ताको टेबलमा भने हारेको बताए। उनले टेबलमा जित्न बुद्धिजीवी, अध्ययनशील र दूरदर्शी नेतृत्व आवश्यक पर्ने बताउँदै हालका नेताहरूमा ती गुण नभएको आरोप लगाए।उनले भने, “सुवास घिसिङपछि कोही असल नेता आएनन्।” उनका अनुसार, दिल्ली र कोलकाताले पहाडका नेताहरूलाई विश्वास नगरेकै कारण समस्या समाधान हुन नसकेको हो।विक्रमादि राईले गोर्खाल्याण्ड नौलो आन्दोलन १५ अगस्तदेखि शुरु भएको र दिल्ली सरकारले सम्बोधन नगरेसम्म यो जारी रहने बताए। उनले यसपटक नेताहरूले अगुवाइ गर्नुपर्ने र आवश्यक परे जेल जान पनि तयार हुनुपर्ने बताए।उनले पहाडका चार नेताहरूलाई सरकारले प्रयोग गरिरहेको र उनीहरूको मुख्य चासो केवल सत्ता र लाभ भएको आरोप पनि लगाए। गोर्खाल्याण्ड संघर्ष समितिले नेतृत्व परिवर्तनको माग गर्दै पुरानो नेतृत्वलाई हटाउनुपर्ने उनको भनाइ थियो।
हिन्दुस्थान समाचार / हनोक