प्रगतीशील साहित्यकार श्रीदास बेकारी गौरव ग्रन्थ लोकार्पित
प्रगतीशील साहित्यकार श्रीदास बेकारी गौरव ग्रन्थ लोकार्पित


साम्दोङ, 01 नोभेम्बर (हि.स.)। नेपाली साहित्यको प्रगतिशील धारका स्रष्टा स्वर्गीय श्रीदास बेकारीको साहित्यिक योगदान, व्यक्तित्व र कृतित्वलाई अभिलेखीकरण गर्ने उद्देश्यले तयार पारिएको ‘श्रीदास बेकारी गौरव ग्रन्थ’ आइतवार घुमाउने डाँडा, साम्दोङस्थित श्रीदास बेकारी स्मृति संस्थानको आयोजनामा विशेष समारोहबीच लोकार्पण गरिएको छ।

साहित्यकार श्रीदास बेकारीको स्मृतिलाई अक्षुण्ण राख्दै उनको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले प्रकाशित यस ग्रन्थलाई नेपाली साहित्यिक क्षेत्रमा एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। साम्दोङ उच्चतर माध्यमिक विद्यालयमा आयोजित लोकार्पण समारोहको प्रारम्भमा अतिथिगणद्वारा स्वर्गीय श्रीदास बेकारीप्रति श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रममा गान्तोकका जिल्ला अध्यक्ष बलराम अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। साम्दोङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरी समारोहलाई सांस्कृतिक रङ प्रदान गरेका थिए।

कार्यक्रममा समारोहका अध्यक्ष तथा क्षेत्र विधायक साम्डुप छिरिङ भोटियाले श्रीदासको गौरव ग्रन्थ प्रकाशित गर्ने पहल गरेकोमा गाउँलेहरूप्रति कृतज्ञता प्रकट गरे। श्रीदासको साहित्यिक योगदानले सिक्किमेली समाजमा शिक्षा र साहित्य क्षेत्रमा परोक्ष योगदान पुगेको बताए। पत्रकार तथा साहित्यकार पुण्य कोइरालाले श्रीदास बेकारीको साहित्यिक व्यक्तित्व र सिर्जनात्मक योगदानमाथि परिचयात्मक वक्तव्य प्रस्तुत गरे। सुश्री प्रणिता शर्माले बेकारीद्वारा रचित कविता वाचन गरिन्। साम्दोङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी अर्जुन भट्टराई र गीताञ्जली कोइराला साथै कवि नर्बदा मङ्गर, तुलशा शर्मा आदिले पनि कविता वाचन गरेका थिए। साहित्यकार भीम ठटालले बेकारीका कामहरू हेरे साम्दोङका जीवन थिङ भन्न सुहाउने बताउँदै उनी सबै समूहका निम्ति प्रेरणाका स्रोत रहेको मन्तव्य गरे। बेकारीले कहिल्यै पनि आफुलाई भिन्नै रूपमा असक्षम हुँ भनेर प्रस्तुत नगरेर सदैव असक्षमतालाई चुनौती दिइरहेको ठटालले बताए।

समारोहमा लोकार्पण गरिएको गौरव ग्रन्थमाथि विजयकुमार सुब्बाले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै कृति र स्रष्टाको व्यक्तित्वमाथि प्रकाश पारे। यस अवसरमा श्रीदास बेकारी स्मृति संस्थानद्वारा श्रीदासकी 93 वर्षीय आमा विष्णुमाया भट्टराईलाई अभिनन्दन गरियो। श्रीदासकी आमाको योगदानबारे पर्शुराम नेपालले प्रकाश पारे। संस्कृत महाविद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई थप साहित्यिक महत्त्व प्रदान गरेको थियो।

समारोहमा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, साहित्यकार रूद्र पौड्याल, भालेढुङ्गा साहित्यिक संस्थाकी अध्यक्ष गीताश्री शर्मा, समाजसेवी टीबी छेत्री, मुख्यमन्त्री कार्यालयका संसाधन अधिकारी सूर्जे प्रधानलगायत विभिन्न साहित्यकार, बुद्धिजीवी, शिक्षासेवी, स्थानीय व्यक्तित्व तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ग्रन्थमा योगदान पुर्याउने लेखकहरूलाई पुस्तक हस्तान्तरण गरिएको थियो। श्रीदास बेकारी स्मृति संस्थानले यस प्रकाशनमार्फत स्वर्गीय स्रष्टाको साहित्यिक अवदानको संरक्षण, सम्मान र प्रचारप्रसारमा महत्त्वपूर्ण पहल गरेको छ। नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र सिर्जनात्मक लेखनप्रति अभिप्रेरित गर्न पनि यस प्रकारका साहित्यिक स्मृति प्रकाशनले योगदान पुर्यातउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रमको अन्त्यमा अर्जुन नेपालले धन्यवाद ज्ञापन गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande