
ढाका (बङ्गलादेश), १० नोभेम्बर (हि.स.)। बङ्गलादेशमा दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। यद्यपि, एउटा मदरसामा लागेको आगलागीका कारण धुवाँको चपेटामा परेर कम्तीमा ४८ जना विद्यार्थी बेहोस भएका छन्। अर्को घटनामा भने कुनै मानवीय क्षति भएको छैन। समाचार तयार पार्दासम्म दुवै स्थानको आगो निभाइसकिएको छ। घाइते विद्यार्थीहरूलाई अस्पताल भर्ना गरिएको छ।
‘ढाका ट्रिब्युन’ को रिपोर्टअनुसार पहिलो घटना सोमबार र मङ्गलबारको मध्यराति करिब १ः५५ बजी नारायणगञ्जको फतुल्लाह क्षेत्रअन्तर्गत साइनबोर्डस्थित जामिया अशरफिया मदरसामा भएको हो। मदरसामा आगलागी भएपछि धुवाँको चपेटामा परेर कम्तीमा ४८ जना विद्यार्थी अस्पताल भर्ना भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ। दमकलकर्मीहरूले चार घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीका आवासीय चिकित्सक सुल्तान महमुद सिक्दरले धुवाँका कारण बेहोस भएका ४८ जना विद्यार्थीलाई अस्पताल ल्याइएको जानकारी दिएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। आईसीयूमा उपचाररत विद्यार्थीहरू युसुफ (१८), खैरुल (२२) र जुबैर (१८) रहेका छन्।
दमकल विभागका अधिकारी शाहजहाँका अनुसार, मङ्गलबार बिहान ३ः४४ बजी आगो नियन्त्रणमा लिइएको थियो। पाँचतले मदरसा भवनको दोस्रो तलामा आगलागी भएको थियो। अस्पतालमा उपचाररत विद्यार्थीहरूले दोस्रो तलामा रहेको पुस्तकालय पूर्ण रूपमा जलेर नष्ट भएको बताएका छन्।
चिकित्सक सुल्तान महमुद सिक्दरका अनुसार, प्रभावित विद्यार्थीहरूबाट प्राप्त जानकारीका आधारमा मदरसाको एउटा भागमा विद्युत् सर्टसर्किटका कारण आगलागी भएको आशङ्का गरिएको छ।
आगोबाट निस्किएको धुवाँ तीव्र गतिमा भवनभरि फैलिँदा विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो। बाहिर निस्कने क्रममा भगदडजस्तै अवस्था सिर्जना भएको थियो। धुवाँका कारण केही विद्यार्थीको श्वासप्रश्वास प्रणालीमा समेत क्षति पुगेको बताइएको छ।
दोस्रो घटना मङ्गलबार बिहान कक्स बजार शहरको कलातोलीस्थित होटल तथा मोटेल क्षेत्रमा भएको हो। त्यहाँ एउटा होटलको छेउमा रहेको आवासीय घरमा आगलागी भएको थियो। बिहान करिब ६ बजी कलाटोलीको शैकतपाडा सडकस्थित उक्त घरमा आगो लागेको हो।
कक्स बजार दमकल विभागका अधिकारी सैयद मोहम्मद मोर्शेद हुसेनले आगो धेरै हदसम्म नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
यसअघि गत १७ अक्टोबरमा कक्स बजार मरीन ड्राइभनजिकै उखियाको इनानीस्थित ‘टुपटुप रेस्टो एन्ड रिसोर्ट’ मा भएको आगलागीमा ११ जना पर्यटकको मृत्यु भएको थियो। त्यसको छ दिनपछि अर्थात् २३ अक्टोबरमा कक्स बजार सहरको सुगन्धा प्वाइन्टस्थित ‘होटल सी प्रिन्सेस’ मा समेत आगलागी भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल