

नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। कांग्रेसले आगामी १३ र १४ नोभेम्बरमा हैदराबादमा भारत समिट आयोजना गर्ने भएको छ। यसमा ७० देशका लगभग एक हजार प्रतिनिधिहरू सहभागी हुनेछन्। सहभागीहरूमा नीति निर्माता तथा विश्वका विभिन्न देशका प्रगतिशील आन्दोलनसँग सम्बन्धित प्रमुख नेताहरू रहनेछन्। समिटमा नयाँ विश्वव्यवस्था, भू–राजनीतिक परिवर्तन, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिका र सूचनाको विश्वसनीयता सहित विभिन्न विषयमा छलफल हुनेछ।
पूर्व विदेशमन्त्री तथा कांग्रेसको विदेश विभागका अध्यक्ष सलमान खुर्शिदले मङ्गलवार यहाँ कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो समिट दुई महत्त्वपूर्ण अवसरका साथ आयोजना हुन लागेको बताए। ती अवसरहरूमा पण्डित जवाहरलाल नेहरूको १३७औँ जयन्ती र भारतको स्वतन्त्रताको ८० वर्ष पूरा हुनु समावेश छन्। उनले नेहरूको विचार आज पनि कांग्रेसको विदेश नीति र दृष्टिकोणका लागि प्रेरणाको स्रोत रहेको बताए। समिटको उद्देश्य राहुल गान्धीको भारत र विश्वको भविष्य तथा नयाँ विश्वव्यवस्था सम्बन्धी परिकल्पनामाथि विचार–विमर्श गर्नु हो। यसमा १२ वटा अन्तरराष्ट्रिय सत्र र तेलङ्गानामा केन्द्रित आठ वटा सत्र हुनेछन्।
तेलङ्गानाका सूचना प्रविधि, इलेक्ट्रोनिक्स तथा सञ्चार, उद्योग तथा वाणिज्य र विधायी मामिला मन्त्री श्रीधर बाबु दुड्डिल्लाले विभिन्न देशबाट आउने प्रतिनिधिहरूबीच हुने विचार–विमर्शबाट तेलङ्गानाको शासन व्यवस्था र जनतालाई लाभ पुग्ने बताए। अन्तरराष्ट्रिय सत्रहरू हैदराबाद इन्टरनेशनल कन्भेन्शन सेन्टर (एचआईसीसी) मा हुनेछन् भने तेलङ्गानासँग सम्बन्धित सत्रहरू हाइटेक्समा आयोजना गरिनेछन्।
यी सत्रहरूमा फ्युचर सिटी र शहरीकरण, आर्थिक तथा सामाजिक न्याय, कल्याणकारी नीतिहरू, सहकारी सङ्घवाद, संस्कृति, युवा तथा खेलकुद र निर्वाचनको निष्पक्षता जस्ता विषयमा छलफल हुनेछ।
श्रीधर बाबुले भारत समिटमा सहभागी हुने प्रतिनिधिहरूलाई दिसम्बरमा आयोजना हुने इनभेस्ट तेलङ्गाना ग्लोबल समिट २०२६ मा पनि आमन्त्रण गरिने बताए। यो कार्यक्रम ७ देखि ९ दिसम्बरसम्म आयोजना हुनेछ। यसमा सम्भावित लगानीका अवसरहरूबारे छलफल गरिनेछ।
तेलङ्गाना प्रदेश कांग्रेस अध्यक्ष बोम्मा महेश कुमार गौडले तेलङ्गानामा दोस्रो पटक यति ठूलो स्तरको कार्यक्रम आयोजना हुन लागेको बताए। यसमा लगभग ७० देशका प्रगतिशील विचारकहरू सहभागी हुनेछन्। उनले यसलाई राज्यका लागि गर्वको अवसर बताए।
कांग्रेसका महासचिव गुरदीप सिंह सप्पलले पछिल्लो १५ वर्षमा भारत सहित विश्वभरि घृणा र विभाजनको राजनीति बढ़ेको बताए। यसबाट जनतालाई नोक्सान पुगेको छ। विश्वका प्रगतिशील र उदारवादी दलहरूले पनि यस चुनौतीलाई बुझिरहेका छन्। कांग्रेसले यस्तो राजनीति विरुद्ध विश्वका राजनीतिक दलहरूलाई एकजुट गर्ने पहल गरेको छ। गत वर्ष पनि हैदराबादमा भारत समिट आयोजना गरिएको थियो।
उनले आज सूचना प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले विश्वको राजनीतिलाई प्रभावित गरिरहेको र राजनीतिक प्रक्रियामा कम्पनीहरूको प्रभाव बढ़िरहेको बताए। यस्तो अवस्थामा राजनीतिक दलहरूका लागि विचार–विमर्श र बौद्धिक छलफल आवश्यक रहेको उनको भनाइ थियो। यसबाट समाज र राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले यी चुनौतीहरूको व्यावहारिक समाधान खोज्न सक्नेछन्। राहुल गान्धीको बर्लिन भ्रमणका क्रममा विश्वका प्रगतिशील राजनीतिक दलका व्यक्तिहरूलाई सहभागी गराएर एउटा थिङ्क ट्याङ्क निर्माण गर्ने विचार अघि आएको थियो। यसको शुरूआत हैदराबादको भारत समिटबाट हुनेछ, जसमा ७० वटा थिङ्क ट्याङ्क सहभागी हुनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी