उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अन्य नेताहरूले गोवर्धन पूजाको शुभकामना दिए
प्रतीकात्मक


नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत विभिन्न नेताहरूले मङ्गलबार गोवर्धन पूजाको अवसरमा देशवासीहरूलाई शुभकामना दिएका छन्।

उपराष्ट्रपतिले एक्समा लेख्दै भगवान् श्रीकृष्णले प्रत्येक घरमा सुख, शान्ति, समृद्धि र सकारात्मकताको आशीर्वाद प्रदान गरून् भन्ने कामना गरेका छन्। यस पर्वले भक्ति, कृतज्ञता र आपसी एकताको मूल्यलाई अझ सुदृढ बनाओस् भन्ने उनले बताएका छन्।

प्रधानमन्त्री मोदीले यो पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र नयाँ उत्साह ल्याओस् भनेका छन्। सबैको जीवनमा खुशी, सौभाग्य र समृद्धि आओस् भन्ने आफ्नो हार्दिक प्रार्थना रहेको उनले बताएका छन्। उनले गोवर्धन पर्वत धारण गर्ने, ग्वालबालहरूका प्रिय, सत्यमा आधारित वीरता भएका तथा आफ्ना भक्तहरूका सबै भय हटाउने भगवान् श्रीकृष्णको वन्दना गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले यो पर्व प्रकृति, कृषि, गौ-संरक्षण र लोकपरम्पराप्रतिको हाम्रो सम्मानमा समर्पित रहेको बताएका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएको कथाले सबैलाई प्रकृतिको रक्षा गर्न, एकजुट रहन र सम्पूर्ण प्राणीप्रति करुणा राख्न सिकाउने उनले बताएका छन्। यो पर्व ग्रामीण संस्कृति, कृषि परम्परा र पशुधनको महत्त्वलाई पुनः स्मरण गर्ने अवसर पनि रहेको उनले उल्लेख गरेका छन्।

राजनाथ सिंहले भगवान् श्रीकृष्णसँग सम्बन्धित यस पर्वले सबैलाई प्रकृतिप्रतिको सम्मान, भोजनको महत्त्व तथा गौ-संरक्षण र हेरचाहप्रतिको दायित्व सम्झाउने बताएका छन्। यस अवसरले सबैलाई कृतज्ञता, एकता र सबैको कल्याणका मूल्यहरू आत्मसात् गर्न प्रेरित गर्ने पनि उनले बताएका छन्।

केन्द्रिय गृहमन्त्री एवं सहकारितामन्त्री अमित शाहले भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, समृद्धि र खुसीयाली ल्याओस् भन्ने कामना गरेका छन्।

केन्द्रिय सामाजिक न्याय एवं अधिकारितामन्त्री वीरेन्द्र कुमारले योगेश्वर भगवान् श्रीकृष्णले सबैलाई सुख, समृद्धि, आरोग्यता र यश प्रदान गरून् तथा कृषि, पर्यावरण एवं गौ-संवर्द्धनको क्षेत्रमा निरन्तर प्रगति होस् भन्ने कामना गरेका छन्।

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले गोवर्धन पर्वत धारण गर्ने तथा गोकुलका रक्षक भगवान् श्रीकृष्णको महिमाको उल्लेख गरेका छन्। भगवान् विष्णुको भुजाबलबाट गोवर्धन पर्वत उठाएर मानिसहरूलाई अनगिन्ती गाई प्रदान गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले भगवान् श्रीकृष्णले गोकुलवासीहरूको रक्षाका लागि गोवर्धन पर्वत उठाएको र प्रकृति, पशुधन तथा अन्नप्रति कृतज्ञताको सन्देश दिएको बताएका छन्।

उनले ‘अन्नकूट’ पर्वले सबैलाई धर्तीमाता, प्रकृति तथा अन्न प्रदान गर्ने किसानहरूको सम्मान गर्न र उनीहरूप्रति आभार व्यक्त गर्न प्रेरित गर्ने बताएका छन्। भगवान् श्रीकृष्णको कृपाले प्रत्येक घर अन्न र समृद्धिले परिपूर्ण होस् भन्ने उनले कामना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande