
नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले मंगलबार गुजराती नयाँ वर्ष ‘बेस्टु वारस’ को पावन अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपतिले एक्समा लेखेका छन्, “यो नयाँ वर्षले प्रत्येक घरमा खुशी, राम्रो स्वास्थ्य, शान्ति र समृद्धि ल्याओस्। यसले सबैका लागि नयाँ आशा, नयाँ सुरुवात र नयाँ आकाङ्क्षाहरू लिएर आओस्।”
प्रधानमन्त्री मोदीले यो नयाँ शुरुवातले सबैको जीवनमा खुशी, शान्ति, समृद्धि र खुशहालीको नयाँ आशा ल्याउने बताएका छन्। सबैको जीवन राम्रो स्वास्थ्य, उत्साह र उमङ्गले भरिपूर्ण रहोस् भन्ने उनले कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले गुजराती नयाँ वर्ष जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसर रहेको बताएका छन्। नयाँ वर्षले सबैको जीवनमा खुशी, शान्ति, उत्तम स्वास्थ्य र समृद्धि ल्याओस् भनी उनले कामना पनि गरेका छन्।
उनले भने, गुजरातको उद्यमशीलता, कडा परिश्रम र जीवन्त सांस्कृतिक परम्पराले देशको प्रगतिमा आफ्नो महत्त्वपूर्ण योगदान निरन्तर दिइरहून्। साथै, सबैले आफ्नो क्षमता र सङ्कल्पका आधारमा देशको विकास यात्रालाई नयाँ उचाइमा पुर्याऊन्। उनले सबैलाई मङ्गलमय र समृद्ध नयाँ वर्षको शुभकामना दिएका छन्।
केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले यो नयाँ वर्षले सबैको जीवनमा खुशी, शान्ति, समृद्धि र आनन्दको नयाँ चमक ल्याओस् भन्दै माता लक्ष्मीको आशीर्वाद प्रत्येक परिवारमा सधैँ कायम रहोस् भन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी