दक्षिण भारतका धेरै क्षेत्रमा तीव्र हावाहुरी सहित भारी वर्षा हुने सम्भावना
प्रतीकात्मक


नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। देशका विभिन्न क्षेत्रमा मौसमको स्वरूपमा परिवर्तन देखिएको छ। एकातिर उत्तर भारतमा दिनप्रतिदिन कुहिरोसँगै चिसो बढ़िरहेको छ भने अर्कोतिर दक्षिण भारतका धेरै क्षेत्रमा भारी वर्षा र आँधीबेहरीको सम्भावना रहेको छ।

भारत मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, १३ नोभेम्बरमा दक्षिणपूर्वी बङ्गालको खाड़ीमा न्यून चापीय क्षेत्र बन्ने सम्भावना छ, जुन आगामी २४ घण्टामा अझ् शक्तिशाली भएर स्पष्ट न्यून चापीय क्षेत्रमा परिणत हुनसक्छ। दिल्ली–एनसीआरमा आगामी दिनहरूमा बिहानको समयमा हल्कादेखि मध्यम कुहिरो देखिनेछ। ११ देखि १३ नोभेम्बरसम्म आंशिक रूपमा बादल लाग्ने सम्भावना छ। यस अवधि अधिकतम तापक्रम २७ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १४ देखि १७ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

मौसम विभाग अनुसार, मध्य र माथिल्लो क्षोभमण्डलमा सक्रिय पश्चिमी विक्षोभको प्रभावका कारण पहाड़ी क्षेत्रमा मौसम परिवर्तन हुने सम्भावना छ। जम्मू-कश्मीर, लद्दाख, हिमाचल र उत्तराखण्डमा १३ नोभेम्बरसम्म पश्चिमी हिमालय क्षेत्रमा छिटपुटदेखि व्यापक वर्षा र हिमपात हुने सम्भावना छ। विशेषगरी १२ नोभेम्बरमा कश्मीर उपत्यकाका केही स्थानमा भारी वर्षा र हिमपात हुनसक्छ। १२ देखि १६ नोभेम्बरसम्म पञ्जाबका केही क्षेत्रमा हल्का वर्षा हुनसक्नेछ। ११ देखि १४ नोभेम्बरसम्म जम्मू-कश्मीर र हिमाचल प्रदेशमा प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावा चल्ने आशङ्का छ।

दक्षिण भारतको दक्षिणपूर्वी अरब सागर, मन्नारको खाड़ी र लक्षद्वीप क्षेत्रमाथि बनेको चक्रवातीय परिसञ्चरणका कारण प्रायद्वीपीय भारतमा वर्षाको क्रम जारी रहने सम्भावना छ। तमिलनाडु, पुडुचेरी र कराइकलमा ११, १५ र १६ नोभेम्बरमा केही स्थानमा भारी वर्षा हुन

सक्ने सम्भावना छ। केरल र माहेमा ११ देखि १५ नोभेम्बरसम्म वर्षा जारी रहनेछ भने १६ नोभेम्बरका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ।

तटीय आन्ध्र प्रदेश, कर्नाटक तथा लक्षद्वीपमा १४ देखि १६ नोभेम्बरसम्म वर्षा हुने सम्भावना छ। यस अवधि तटीय आन्ध्र प्रदेश, याम, रायलसीमा तथा कर्नाटकका तटीय र दक्षिणी आन्तरिक क्षेत्रमा वर्षा हुनसक्छ।

अण्डमान तथा निकोबार द्वीप समूहमा ११ देखि १६ नोभेम्बरसम्म व्यापक वर्षा हुन सक्नेछ। यसैबीच भारी वर्षासँगै प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा हावा चल्ने सम्भावना छ।

११ नोभेम्बरमा बिहार, झारखण्ड, उप-हिमाली पश्चिम बङ्गाल र सिक्किममा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। पूर्वोत्तर राज्यहरूमा ११ र १२ नोभेम्बरबीच अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा छिटपुट वर्षा हुनेछ। अर्कोतर्फ, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षाको अलर्ट जारी गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande