पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
मिकमार लेप्चा


गान्तोक, 10 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले तादोङस्थित नारबहादुर भण्डारी सरकारी महाविद्यालयका विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) का पूर्व अध्यक्ष मिकमार लेप्चाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मङ्गन जिल्लाको तनेक निवासी मिकमार लेप्चा महाविद्यालयको एसआरसी अध्यक्ष बन्ने लेप्चा समुदायका पहिलो व्यक्ति रहेको उल्लेख गरेका छन्।

आफ्नो कार्यकालमा विद्यार्थीहरूको हितका लागि उनले देखाएको प्रतिबद्धता, अनुकरणीय नेतृत्व क्षमता तथा विभिन्न विकासमूलक पहलहरूमा पुर्‍याएको योगदानलाई सधैँ सम्मानका साथ स्मरण गरिने मुख्यमन्त्रीले बताएका छन्।

उनको असामयिक निधन परिवार तथा आफन्तजनका लागि मात्र नभई विद्यार्थी समुदाय, लेप्चा समुदाय र सम्पूर्ण सिक्किमवासीका लागि अपूरणीय क्षति भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले उनका योगदान र विरासतले भावी पुस्ताका युवाहरूलाई निरन्तर प्रेरित गरिरहने पनि उनले बताएका छन्।

सिक्किम सरकार तथा राज्यवासीका तर्फबाट मुख्यमन्त्रीले शोकसन्तप्त परिवार, आफन्तजन, साथीभाई तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, यस दुःखद घडीमा शोकाकुल परिवारलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande