
काठमाडौँ, १० नोभेम्बर (हि.स.)। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका बढ्दो प्रभावबाट पर्वतीय क्षेत्रको सुरक्षा गर्न अनुकूलन वित्त जुटाउने र त्यसमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। जलवायु परिवर्तनका असरहरूसँग जुध्न पर्वतीय देशहरूलाई पर्याप्त तथा सहज रूपमा उपलब्ध हुने वित्तीय सहायता आवश्यक रहेको उनले बताएका छन्।
परराष्ट्रमन्त्री खनालले टर्कीको अन्ताल्यामा शुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी फ्रेमवर्क कन्वेंशन के 31वें कॉन्फ्रेन्स अफ पार्टीज अन्तर्गत आयोजित एक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
‘अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढ बनाउने’ शीर्षकमा आयोजित उक्त कार्यक्रम नेपाल, भुटान र किर्गिस्तानले संयुक्त रूपमा आयोजना गरेका थिए। कार्यक्रममा एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसीमोड) र जोय इन्भाइरोमेन्ट नेटवर्कले सहयोग गरेका थिए।
खनालले हालै नेपालमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै त्यसबाट भएको आर्थिक, भौतिक तथा मानवीय क्षतिको चर्चा गरे। जलवायु परिवर्तनका बढ्दो प्रतिकूल प्रभावबाट पर्वतीय क्षेत्रलाई सुरक्षित राख्न तथा विपद्बाट पुनः उठ्ने क्षमता सुदृढ गर्न क्षेत्रीय र विश्वव्यापी स्तरमा एकता तथा सहकार्य आवश्यक रहेको उनले बताए।
उनले विश्वको करिब एकतिहाइ जनसङ्ख्या प्रत्यक्ष रूपमा पर्वतीय पारिस्थितिक प्रणालीमा निर्भर रहेको उल्लेख गर्दै पर्वतीय क्षेत्रको सुरक्षा तथा संरक्षणलाई संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी प्रक्रियामा प्राथमिकता दिनुपर्ने बताए।
जलवायु परिवर्तनका प्रभावसँग जुध्न अनुकूलनका क्षेत्रमा वित्तीय सहायता बढाउनुपर्ने आवश्यकतामा पनि उनले जोड दिए। खनालले अन्तरराष्ट्रिय समुदायलाई पर्याप्त, पूर्वानुमानयोग्य र सहज रूपमा उपलब्ध हुने वित्तीय स्रोत सुनिश्चित गर्ने जलवायु वित्त प्रणाली विकास गर्न आह्वान गरे।
परराष्ट्रमन्त्रीले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्ने सम्भावना कायम राख्न पनि अपील गरे। पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनका गम्भीर प्रभावबाट जोगाउन अन्तरराष्ट्रिय समुदायले ठोस सहयोग र वित्तीय प्रतिबद्धता देखाउनुपर्ने उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल