नेपालको स्पेक्ट्रम र सेटेलाइट अर्बिट प्रबन्धनमा जोड
कतर में आयोजित सम्मेलन में विभिन्न देशों के प्रतिनिधि


काठमाडौँ, १० नोभेम्बर (हि.स.)। नेपालले विश्वव्यापी दूरसञ्चार व्यवस्थामा आफ्ना रणनीतिक हितहरू, विशेषगरी रेडियो स्पेक्ट्रम तथा उपग्रह कक्षको प्रबन्धनसँग सम्बन्धित विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमुखताका साथ उठाएको छ। कतारको राजधानी दोहामा आयोजित अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को २०२६ को पूर्णाधिकार सम्मेलनका क्रममा नेपालले विभिन्न देशका प्रतिनिधिहरूसँग यी विषयमा छलफल गरेको छ।

नेपालका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी) मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनायो।

दोहास्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मन्त्री तिमिल्सिनाले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिएका थिए। यस क्रममा उनले मित्रराष्ट्रका प्रतिनिधिहरूसँग विचार आदानप्रदान गरे।

सम्मेलनका क्रममा अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको रेडियो सञ्चार ब्युरोको निर्देशक पदका लागि फ्रान्सका उम्मेदवार एरिक फोर्नियरले मन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गरे। उक्त भेटमा रेडियो स्पेक्ट्रम तथा उपग्रह कक्षको प्रबन्धनलगायत नेपालका लागि रणनीतिक महत्त्व राख्ने विषयमा छलफल भएको थियो। फोर्नियरले उक्त पदका लागि आफ्नो कार्ययोजना, दृष्टिकोण तथा प्राथमिकताबारे पनि जानकारी गराए।

यसैगरी मन्त्री तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाकी सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेला जस्मिन कैरुकीसँग पनि शिष्टाचार भेट गरेका थिए।

ती भेटवार्तामा आपसी हितका विषयमा विचारविमर्श हुनुका साथै डिजिटल सम्पर्क विस्तारका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्यको सम्भावनाबारे छलफल भयो।

मन्त्री तिमिल्सिनाले कतार सरकारद्वारा सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा अन्य प्रतिनिधिहरूको सम्मानमा आयोजित रात्रिभोजमा समेत सहभागिता जनाएका थिए।

के हो आईटीयू पूर्णाधिकार सम्मेलन?

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को पूर्णाधिकार सम्मेलन विश्वव्यापी दूरसञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित नीति, नियम र अन्तरराष्ट्रिय सहकार्यबारे छलफल गर्ने प्रमुख मञ्च हो। यसमा सदस्य राष्ट्रका प्रतिनिधिहरू भेला भएर दूरसञ्चार क्षेत्रको भावी दिशा तथा विश्वव्यापी प्राथमिकताबारे विचारविमर्श गर्छन्।

‘सँगै, एक कनेक्टेड डिजिटल भविष्यतर्फ’ भन्ने मूल नाराका साथ आयोजित यो सम्मेलन नोभेम्बर ९ देखि शुरु भएको हो र नोभेम्बर २७ सम्म सञ्चालन हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande