
नयाँ दिल्ली, १० नोभेम्बर (हि.स.)। कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीले आफ्नो पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मा निजी जीवन, राजीव गान्धीसँगको पहिलो भेट र विवाह, भारत आगमन, पारिवारिक दुःखद घटनाहरू तथा साल २००४ मा प्रधानमन्त्री पद स्वीकार नगर्ने निर्णयसँग सम्बन्धित विभिन्न प्रसंग साझा गरेकी छन्। उनले यसलाई राजनीतिक पुस्तक नभई निजी संस्मरण बताएकी छन्। पुस्तक राहुल, प्रियंका तथा आफ्ना नातिनातिना रैहान र मिरायालाई समर्पित गरेकी छन्।
औपचारिक विमोचन कार्यक्रमबिनै बजारमा आएको यस पुस्तकको बिक्री मंगलवारदेखि शुरु भएको छ। हार्पर कोलिन्स इन्डियाद्वारा प्रकाशित पुस्तकमा सात वटा अध्याय छन्। पुस्तकको आवरणमा रहेको सोनिया गान्धीको तस्बिर साल १९६६ मा राजीव गान्धीले खिचेका थिए।
सोनियाले सामाजिक सञ्जाल एक्समा पुस्तकको एक अंश साझा गर्दै साल २००४ मा प्रधानमन्त्री पद स्वीकार नगर्ने आफ्नो निर्णयबारे उल्लेख गरेकी छन्। उनले आफूप्रति इमानदार रहनुपर्ने निष्कर्ष निकालेको बताएकी छन्। कांग्रेस महासचिव केसी वेणुगोपालले पनि पुस्तक प्रकाशन भएकोमा सोनियालाई बधाई दिएका छन्।
पुस्तकमा सोनियाले साल २००४ को लोकसभा चुनाउ हुनुभन्दा केही महिनाअघि नै कांग्रेस सत्तामा आए पनि आफू प्रधानमन्त्री नबन्ने निर्णय गरिसकेको बताएकी छन्। राहुल र प्रियंका पनि उनलाई प्रधानमन्त्री बनेको हेर्न चाहँदैनथे। इन्दिरा गान्धी र राजीव गान्धीको हत्याका घटनाहरूका कारण प्रधानमन्त्री बनेपछि आफ्नो ज्यानलाई खतरा बढ्नसक्ने उनको आशंका थियो। पार्टीभित्र नेतृत्वलाई लिएर विवाद नहोस् भनेर उनले चुनाउ प्रचारका क्रममा आफ्नो निर्णय सार्वजनिक नगरेको उल्लेख गरेकी छन्।
चुनाउ जितेपछि गठबन्धनका नेताहरूले उनलाई निर्णय परिवर्तन गर्न आग्रह गरे। उनले असहमति जनाए पनि नेताहरूले उनको कुरा पूरा नसुनी सहमति दिएको ठाने। त्यसबेला राहुलले आफूले प्रधानमन्त्री बन्न किन सहमति दिएको भनेर प्रश्न गरेका थिए। प्रियंकाले पनि उनले पहिले नै आफ्नो निर्णय स्पष्ट पारेको सम्झाएकी थिइन्। विदेशी मूलको मुद्दा पनि प्रधानमन्त्री पद स्वीकार नगर्नुको एउटा कारण रहेको सोनियाले उल्लेख गरेकी छन्। अन्ततः उनले डा. मनमोहन सिंहको नाम प्रधानमन्त्री पदका लागि प्रस्ताव गरिन्।
पुस्तकमा सोनियाले राजीव गान्धीसँगको पहिलो भेटबारे पनि लेखेकी छन्। १९ वर्षको उमेरमा अंग्रेजी भाषा सिक्न इटालीबाट क्याम्ब्रिज पुगेकी उनी त्यहाँको एउटा ग्रीक रेस्टुरेन्टमा राजीवलाई देखेकी थिइन्। जनवरी महिनाको एक दिन उनका साथी क्रिश्चियन भोन स्टिगलिट्जले उनीहरूको परिचय गराएका थिए। पहिलो भेटमै दुवै एकअर्काप्रति आकर्षित भएको र बिस्तारै भेटघाट बढ्दै गएको उनले बताएकी छन्। आफ्नो सम्बन्धबारे बुबालाई बताउँदा इटाली फर्काइने डर आफूलाई लागेको पनि उनले लेखेकी छन्।
इटालीको नागरिकता त्यागेर भारतीय नागरिकता लिने विषयमा सोनियाले लामो समयसम्म आफ्नो इटालियन पासपोर्ट सुरक्षित राखेको बताएकी छन्। राजीव गान्धी सार्वजनिक जीवनमा प्रवेश गरेपछि भारतीय नागरिकता लिनु उचित लागेको उनको भनाइ छ। साल १९८३ मा भारतीय नागरिकता लिने औपचारिक प्रक्रियाका क्रममा कागजात पढ्दा आफ्नो मुटुको धड्कन तीव्र भएको र पहिचानको एउटा हिस्सा सधैँका लागि छुटिरहेको महसुस भएको उनले उल्लेख गरेकी छन्।
पुस्तकमा अन्तरराष्ट्रिय नेताहरूसँगको भेटका रोचक प्रसंगहरू पनि समेटिएका छन्। साल २००० मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री अटल बिहारी वाजपेयीले आयोजना गरेको स्वागत समारोहमा क्लिन्टनले त्यहाँ उपस्थित सुन्दर महिलाहरूलाई लुकीछिपी हेरिरहेको आफूले पाएको सोनियाले लेखेकी छन्। उनले क्लिन्टनको कश्मीर सम्बन्धी विचारबारे पनि उल्लेख गरेकी छन्। क्लिन्टनले कश्मीरलाई आणविक द्वन्द्वको केन्द्र र विश्वकै सबैभन्दा खतरनाक स्थानमध्ये एक मानेको उनले बताएकी छन्।
साल २००८ मा फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजी भारत भ्रमणमा आउँदा उनकी साथी कार्ला ब्रुनी उनीसँग थिइनन्। भोजका क्रममा तत्कालीन उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीकी पत्नीले सार्कोजीसँग विवाहको योजनाबारे प्रश्न गरेकी थिइन्। सार्कोजीले सहज रूपमा जवाफ दिएका थिए र कार्लालाई फोनमा सन्देश पनि पठाइरहेका थिए। पछि भएको अर्को भेटमा सार्कोजीको व्यवहार आफूलाई केही अहंकारी लागेको सोनियाले लेखेकी छन्।
सोनियाले बेलायतकी राजकुमारी डायनासँगको भेटका प्रसंग पनि पुस्तकमा समेटेकी छन्। साल १९८१ मा उनी राजीव गान्धीसँग डायनाको विवाह समारोहमा सहभागी भएकी थिइन्। साल १९९२ मा डायना भारत भ्रमणमा आएका बेला ताजमहल अगाड़ी उनीहरूको भेट भएको थियो। त्यसपछि डायना सोनियाको घरमा चिया पिउन पनि आएकी थिइन्। त्यसबेला सोनियाकी आमा भारतमा थिइन्। प्रियंकाले डायनासँग उनको परिचय गराएकी थिइन्। डायनाले उनकी आमासँग इटालियन भाषामा कुराकानी गरेकी थिइन् र बिदा हुने बेला ‘चाओ, नन्ना’ भनेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी