
- ध्रुव कपिला-राधिका शर्माको चुनौती समाप्त
कुमामोटो, १० नोभेम्बर (हि.स.)। भारतीय महिला युगल जोडी त्रीसा जोली र गायत्री गोपीचन्दले जापान मास्टर्स २०२६ को दोस्रो चरणमा स्थान बनाएका छन्। मङ्गलबार कुमामोटो प्रिफेक्चरल जिम्नेजियममा सम्पन्न खेलमा भारतीय जोडीले जापानका हिनाता सुजुकी र नाओ यामाकितालाई सोझो सेटमा पराजित गर्यो।
त्रीसा र गायत्रीले पहिलो सेट २१-१७ ले आफ्नो पक्षमा पारिन्। दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै भारतीय जोडीले २१-१४ को जित दर्ता गर्यो। ४२ मिनेटसम्म चलेको यस खेलमा जित हासिल गरेसँगै दुवैले प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।
पुरुष युगलतर्फ हरिहरन अम्साकरुणन र अर्जुन एमआरको जोडीले पूर्वविश्व च्याम्पियन मलेसियाली जोडी आरोन चिया र सोह वुई यिकविरुद्ध वाकओभर पाएको छ। खेलको पहिलो सेटमा भारतीय जोडी ११-६ ले अगाडि रहेको अवस्थामा मलेसियाली खेलाडीहरूले चोट वा अन्य कुनै कारण उल्लेख नगरी खेलबाट बाहिरिने निर्णय गरेका थिए।
यसअघि दिनमा सम्पन्न मिश्रित युगलको छनोट चरणमा भारतीय जोडी ध्रुव कपिला र राधिका शर्माले भने हार बेहोर्नुपर्यो। उनीहरूलाई अमेरिकाका चेन झी यी र फ्रान्सेस्का कोर्बेटको जोडीले सोझो सेटमा पराजित गर्यो।
पहिलो सेटमा भारतीय जोडीले ८-८ को बराबरीसम्म कडा प्रतिस्पर्धा गरेको थियो। तर, मध्यविरामसम्म अमेरिकी जोडीले ११-९ को अग्रता बनायो। त्यसपछि लगातार अङ्क जोड्दै अमेरिकी जोडीले पहिलो सेट २१-१६ ले जित्यो।
दोस्रो सेटमा प्रतिस्पर्धा अझ रोचक बनेको थियो। भारतीय जोडीले पुनरागमन गर्दै अङ्कतालिका १४-१४ को बराबरीमा पुर्याए पनि त्यसपछि चेन र फ्रान्सेस्काले लगातार अङ्क जोड्दै २१-१५ ले सेट जिते। यससँगै भारतीय जोडीको प्रतियोगितामा चुनौती समाप्त भयो।
हिन्दुस्थान समाचार / बिशाल