
वेल्लोर, १० नोभेम्बर (हि.स.)। तमिलनाडुको वेल्लोर जिल्लामा गुडियात्तम नजिकै पुरानो रिसइबीका कारण पट्टाली मक्कल कच्ची (पीएमके) का नेता ज्ञानवेलुको घरेलु बन्दुकले गोली हानी हत्या गरिएको छ। यस घटनामा उनका मित्र रघु पनि घाइते भएका छन्। घटनापछि फरार हुने प्रयास गरिरहेको आरोपी पूवरासनलाई पुलिसले खुट्टामा गोली हानेर पक्राउ गरेको छ। पुलिसले जारी गरेको प्रेस विज्ञप्तिमा मङ्गलवार यस घटनाबारे विस्तृत जानकारी दिइएको छ।
पुलिस अनुसार, गुडियात्तम नजिकैको सेङ्गुन्द्रम गाउँका निवासी पीएमके नेता ज्ञानवेलु र सोही गाउँका पूवरासनबीच लामो समयदेखि रिसइबी चलिरहेको थियो। सोमवार साँझ कुनै विषयलाई लिएर दुवैबीच मौखिक विवाद भयो। यसै क्रममा पूवरासनले आफूसँग रहेको लाइसेन्स नभएको घरेलु बन्दुकबाट ज्ञानवेलुमाथि गोली चलाएको आरोप छ।
गोली प्रहारबाट ज्ञानवेलु र उनीसँगै रहेका मित्र रघु घाइते भए। स्थानीय बासिन्दाहरूले दुवैलाई गुडियात्तम सरकारी अस्पताल पुर्याए। तर अस्पताल लैजाने क्रममा बाटोमै ज्ञानवेलुको मृत्यु भयो। अर्कोतर्फ, घाइते रघुलाई थप उपचारका लागि वेल्लोर स्थित अडुक्कमपारई सरकारी अस्पतालमा भर्ती गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
घटनाको जानकारी पाएपछि पुलिसले मुद्दा दर्ता गरी ज्ञानवेलुको शवलाई पोस्टमार्टमका लागि अडुक्कमपारई सरकारी अस्पताल पठायो। त्यसपछि पुलिसले फरार आरोपी पूवरासनको खोजी शुरु गर्यो।
पुलिस अनुसार, पक्राउ गर्ने क्रममा पूवरासनले पुलिसकर्मीहरूमाथि आक्रमण गरी भाग्ने प्रयास गर्यो। त्यसपछि पुलिसले आत्मरक्षाका लागि गोली चलायो, जुन पूवरासनको खुट्टामा लाग्यो। गोली लागेर घाइते भएको आरोपीलाई उपचारका लागि अस्पतालमा भर्ती गरिएको छ। अर्कोतर्फ, उसको आक्रमणमा घाइते भएका एक पुलिसकर्मीको पनि अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि गुडियात्तम र वरपरका क्षेत्रमा सावधानीस्वरूप पुलिस बल तैनाथ गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी