
राष्ट्रपति एर्दोआनले भने- देश शोकाकुल
अंकारा (टर्की), १० नोभेम्बर (हि.स.)। पश्चिमी टर्कीको एक स्टिल कारखानामा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
राष्ट्रपति रजब तैयप एर्दोआनले सोमबार मन्त्रिपरिषद्को बैठकलगत्तै यस घटनाको पुष्टि गरेका हुन्।
राष्ट्रपतिले इजमिरको आलियागा जिल्लामा भएको विस्फोटको कारण पत्ता लगाउन तथा यसका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न न्यायिक र प्रशासनिक जाँच शुरु गरिएको बताएका छन्।
टर्कीको प्रमुख समाचार च्यानल ‘टीएनटी वर्ल्ड’ को रिपोर्टअनुसार, अंकारास्थित राष्ट्रपति भवन परिसरमा मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपति एर्दोआनले भने, “यस घटनाले सिंगो देशलाई गहिरो दुःख पुर्याएको छ। यसका लागि जिम्मेवार व्यक्तिहरूको पनि पहिचान गरिनेछ।”
इजमिरका गभर्नर सुलेमान एल्बानले स्थानीय समयअनुसार बिहान करिब ११ः४६ बजी (०८४६ जीएमटी) ‘हबास आइरन एन्ड स्टिल प्लान्ट’ मा भट्टी परिवर्तन गर्ने क्रममा विस्फोट भएको जानकारी दिएका छन्। उनका अनुसार, छतमा रहेको क्रेन खसेको थियो। यसका कारण केही सामग्री विद्युतीय आर्क भट्टीमा खसेपछि प्राकृतिक ग्यासको पाइपलाइन क्षतिग्रस्त भयो र विस्फोट भएको थियो।
उनले शुरुमा १० जनाको मृत्यु र १५ जना घाइते भएको जानकारी दिएका थिए। उद्धार अभियान जारी रहेको र भग्नावशेषमुनि चार जना फसेको आशङ्का गरिएको उनले बताएका थिए। एल्बानका अनुसार, घटनाका बेला कारखानामा करिब २०० जना कामदार उपस्थित थिए। सामान्य उत्पादनको समयमा यहाँ ३०० भन्दा बढी कामदार कार्यरत रहने गर्छन्। हालसम्म कसैलाई पक्राउ गरिएको छैन र घटनाबारे न्यायिक तथा प्रशासनिक जाँच भइरहेको छ।
इजमिरमा भएको विस्फोटपछि अजरबैजानले टर्कीप्रति गहिरो समवेदना व्यक्त गरेको छ। अजरबैजानको विदेश मन्त्रालयले यस घटनाबाट आफूहरू अत्यन्त दुःखी भएको बताउँदै शोकसन्तप्त परिवार तथा उनीहरूका आफन्तप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला वान डेर लेयेनले पनि यस घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “प्रिय राष्ट्रपति, यस कठिन घडीमा मेरो समवेदना टर्कीसँग छ।”
उल्लेखनीय छ, भूमध्यसागरको तटमा अवस्थित अन्ताल्यामा जलवायु परिवर्तन रोक्ने उपायबारे छलफल गर्न विश्वका नेताहरू तथा पर्यावरण अभियन्ताहरू भेला भइरहेका बेला टर्कीमा यो दुर्घटना भएको हो।