
गुवाहाटी, ११ नोभेम्बर (हि.स.)। आगामी ३० नोभेम्बरमा हुने मिसिङ स्वायत्त परिषद् (एमएसी) र सोनोवाल कछारी स्वायत्त परिषद् (एसकेएसी) निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया १० नोभेम्बरमा सम्पन्न भएको छ। मिसिङ स्वायत्त परिषद्का ४० निर्वाचन क्षेत्रका लागि कुल २६८ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। यसैगरी, सोनोवाल कछारी स्वायत्त परिषद्का ३२ निर्वाचन क्षेत्रका लागि १६३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्राप्त जानकारीअनुसार, मिसिङ स्वायत्त परिषद् निर्वाचनमा कुल ६ लाख ३५ हजार ४९३ मतदाताले ४० निर्वाचन क्षेत्रका १ हजार ३२ मतदान केन्द्रमार्फत आफ्नो मताधिकार प्रयोग गर्नेछन्। यी ४० निर्वाचन क्षेत्रमध्ये २८ वटा अनुसूचित जनजाति (एसटी) उम्मेदवारका लागि र सातवटा महिलाका लागि आरक्षित छन् भने पाँचवटा निर्वाचन क्षेत्र सबै वर्गका उम्मेदवारका लागि खुल्ला राखिएका छन्।
त्यसैगरी, सोनोवाल कछारी स्वायत्त परिषद् निर्वाचनमा कुल १ लाख ६३ हजार ९६६ मतदाताले ३२ निर्वाचन क्षेत्रका ३३७ मतदान केन्द्रमार्फत मतदान गर्नेछन्। यहाँका ३२ निर्वाचन क्षेत्रमध्ये २५ वटा अनुसूचित जनजातिका उम्मेदवारका लागि र छवटा महिलाका लागि आरक्षित छन् भने एउटा निर्वाचन क्षेत्र सबै वर्गका उम्मेदवारका लागि खुल्ला राखिएको छ।
दुवै स्वायत्त परिषद्को निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले असम राज्य निर्वाचन आयोगले कुल ४५ जना निर्वाचन पर्यवेक्षक नियुक्त गरेको छ।
यसका अतिरिक्त आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रत्येक उम्मेदवारका लागि अधिकतम चुनावी खर्चको सीमा दुई लाख रुपैयाँ निर्धारण गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल