

पूर्वी सिंहभूम, 11 नोभेम्बर (हि.स.)। बुधवार टेल्को पुलिस थाना क्षेत्रको रिङ्ग रोडमा द्रुत गतिमा आइरहेको कारले ठक्कर दिएपछि स्कूलका बाल-बालिकाहरूले भरिएको यात्रु अटो दुर्घटनामा परेको छ। दुर्घटनामा 8 जना बाल-बालिकाहरू घाइते भएका छन्। घटनापछि उक्त क्षेत्रको अवस्था तनाउपूर्ण बनेको छ। वरपरका मानिसहरूले तुरुन्तै सबै घाइते बच्चाहरूलाई बाहिर निकालेर उनीहरूलाई उपचारका लागि टाटा मोटर्स अस्पतालमा लगे। घाइते बच्चाहरू टेल्कोको गुरु नानक स्कूलका विद्यार्थीहरू रहेको बताइएको छ।
स्थानीयहरूबाट प्राप्त जानकारी अनुसार स्कूलका बाल-बालिकाहरू बोकेको यात्रु अटो नम्बर (जेएच 05-जेड 3841) रिङ्ग रोड हुँदै गइरहेको थियो। यसैबीच कार नम्बर- (जेएच 05 डीजे-3955) तीव्र गतिमा त्यहाँ पुग्यो। प्रत्यक्षदर्शीहरू अनुसार कार अचानक अनियन्त्रित भएर अटोमा ठोक्कियो। ठक्करको धक्का यति गम्भीर थियो कि अटो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसमा बसेका बच्चाहरू घाइते भएका छन्। कार एउटी महिलाले चलाएको बताइएको छ।
घाइतेहरूको पहिचान अमृता कुमारी, गुरप्रीत कौर, रोहित कुमार, आशिष गुप्ता, मोहित गुप्ता, रिचा कुमारी र अनुष्का कुमारीका रूपमा भएको छ। दुर्घटनामा कुल आठ जना बाल-बालिकाहरू घाइते भएको बताइएको छ जबकि एकजनाको नाम पुष्टि भएको छैन। सबै घाइतेहरूको टाटा मोटर्स अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएपछि टेल्को पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाको अनुसन्धान शुरु गऱ्यो। ठक्करपछि कार चालक घटनास्थलबाट भागेको बताइएको छ। पुलिसले वाहन नम्बरको आधारमा ड्राइभरको पहिचान र दुर्घटनाको कारणबारे जानकारी सङ्कलन गरिरहेको छ। दुर्घटनाको कारण तथा दुर्घटना हुँदा दुवै वाहनको कति थियो, त्यसको पनि पुलिसले अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा