
विजयवाडा, ११ नोभेम्बर (हि.स.)। राज्यसभाका पूर्व सांसद वी. विजयसाई रेड्डीले नयाँ राजनीतिक दल ‘परिवर्तन राजनीति पार्टी’ (पीपीपी) गठन गर्ने घोषणा गरेका छन्। उनले बुधबार यहाँ आयोजित एक कार्यक्रममा पार्टीको नाम र झण्डा सार्वजनिक गरेका छन्। पार्टीको झण्डामा माथिल्लो भागमा केसरिया र तल्लो भागमा सेतो रङ रहेको छ भने बीचमा चक्रको चिह्न राखिएको छ।
यस अवसरमा विजयसाई रेड्डीले आन्ध्र प्रदेशका युवाहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले नयाँ राजनीतिक दल स्थापना गरिएको बताए। आफूमा मुख्यमन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पार्दै उनले परिवारवादमा आधारित राजनीतिलाई अन्त्य गरी समाजका सबै वर्गमा नेतृत्व विकास गर्न चाहेको बताए।
युवजन श्रमिक रायथू कांग्रेस पार्टी (वाईएसआरसीपी) का पूर्व राष्ट्रिय महासचिव रहेका विजयसाय रेड्डीले २०२५ को जनवरीमा पार्टी छाड्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए। त्यसै क्रममा उनले राज्यसभा सदस्य पदबाट पनि राजीनामा दिएका थिए।
उनी पूर्व मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीका निकट सहयोगीका रूपमा परिचित थिए। २०१९ मा आन्ध्र प्रदेशमा वाईएसआरसीपीले भारी बहुमतसहित सरकार गठन गरेपछि विजयसाय रेड्डी पार्टीका प्रमुख नेताका रूपमा उदाएका थिए।
नयाँ राजनीतिक दलको गठनसँगै विजयसाय रेड्डी पुनः सक्रिय राजनीतिमा फर्किएका छन्।
हिन्दुस्थान समाचार / बिशाल