
- घटनामा २४ घर र पसल जलेर खरानी, मुख्यमन्त्री खाण्डूले घटनाप्रति दुःख व्यक्त गरे
इटानगर, १२ नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशको कुरुङ कुमे जिल्लाको पारसी पारलोमा बिहीबार बिहान सबेरै लागेको भीषण आगलागीमा तीन बालबालिका र एक महिलासहित चार जनाको मृत्यु भएको छ। यस घटनामा कम्तीमा २४ घर तथा पसल जलेर खरानी भएका छन्।
मृतकहरूको पहिचान डोङ्गडा यानु (महिला) आमा, डोङ्गडा करसाङ (नाबालिग) छोरा, डोङ्गडा माजी (नाबालिग) छोरा र डोङ्गडा अम्जी (नाबालिग) छोरीका रूपमा भएको छ। यसै घटनामा एक जना गम्भीर रूपमा आगोले जलेका छन्। उनको पहिचान डोङ्गडा ताजी (पुरुष) पिताका रूपमा भएको छ। मृतक तथा घाइते सबै एउटै परिवारका रहेको बताइएको छ।
कुरुङ कुमे जिल्ला विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहान करिब २ बजी आगलागी भएको थियो। हेर्दाहेर्दै आगो तीव्र गतिमा फैलिँदै धेरै घरमा पुगेको थियो। यसबाट आवासीय सम्पत्तिमा ठूलो क्षति पुगेको छ। घटनामा १९ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेको छ।
पुलिस स्रोतका अनुसार भान्साकोठाबाट आगो शुरु भएको आशंका गरिएको छ। यद्यपि, आगलागीको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। पारसी पारलोमा दमकल केन्द्र नरहेको बताइएको छ। त्यस्तै, कोलोरियाङमा तैनाथ दमकल गाडी खराब अवस्थामा रहेका कारण समयमै प्रभावित क्षेत्रमा पुग्न सकेन। आगो निभाउन तत्काल सहयोग उपलब्ध हुन नसक्दा नियन्त्रण गर्ने प्रयासमा बाधा पुगेको थियो।यसैबीच, मुख्यमन्त्री पेमा खाण्डूले कुरुङ कुमे जिल्लाको पारसी पारलो सर्कलमा भएको यस भीषण आगलागीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यस घटनाले धेरै परिवारलाई घरबारविहीन बनाएको छ भने स्थानीय समुदायलाई ठूलो सङ्कटमा पारेको छ।मुख्यमन्त्रीले मानिसहरूको मृत्यु र परिवारका सदस्यहरू बेपत्ता भएको खबरले यस त्रासदीलाई अझ हृदयविदारक बनाएको बताएका छन्। उनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित सबैलाई धैर्य र साहस मिलोस् भनी प्रार्थना गरेका छन्।खाण्डूले यस दुःखद घडीमा सहयोगका लागि अघि आएका स्थानीय प्रशासन, पुलिस, दमकल विभाग, आपतकालीन सेवाकर्मी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति पनि हृदयदेखि आभार व्यक्त गरेका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई प्रभावित परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।अल निशी युथ एसोसिएसनका अध्यक्ष जामरु रुजाले पनि यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। यस घटनालाई हृदयविदारक बताउँदै रुजाले यस्तो कठिन समयमा आफ्नो संगठन पारसी पारलोका जनतासँग दृढतापूर्वक उभिएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी