
झाड़ग्राम, 12 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको झाड़ग्राम जिल्ला अधिनस्थ नयाँग्राममा जङ्गलमा सालको पात सङ्कलन गर्न गएकी एकजना वृद्धाको हात्तीको आक्रमणमा परी मृत्यु भयो। मृतकको पहिचान विनता पात्रा (76)- को रूपमा भएको छ। उनी नयाँग्रामको भालुकचुआ गाउँकी बासिन्दा थिइन्। घटना गए बुधवार साँझ केशवरखा रेञ्जको बालिगेडिया बीट अन्तर्गत भालुकचुवा जङ्गलमा भएको हो।
जानकारी अनुसार अहिलेघरि जङ्गलमहल क्षेत्रमा बाँधना पर्व मनाइँदैछ। यो पर्व मुख्यतया कुड़मी र आदिवासी समुदायका मानिसहरूले मनाउँछन्। यस अवसरमा घरमा विभिन्न प्रकारका पिठा (परम्परागत परिकार) बनाउने परम्परा छ। धेरैजसो मानिसहरूले यसलाई बनाउन सालका पातहरू प्रयोग गर्छन्।
स्थानीयहरू अनुसार बुधवार दिउँसो विनता पात्र पिठा बनाउनको लागि सालका पात सङ्कलन गर्न जङ्गलमा गएकी थिइन्। यस अवधि अचानक उनको सामना हात्तीसित भयो। हात्तीले उनलाई सुँड़ले बटारेर भुँइमा पछाऱ्यो। साँझ घटनाको जानकारी पाएर घटनास्थलमा पुगेका स्थानीयहरूले वन विभागको सहयोगमा उनलाई नयाँग्राम सुपर स्पेशियालिटी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
बुधवार अबेर साँझ खडगपुर वन विभागका एकजना अधिकारीसित सम्पर्क गर्दा प्राप्त जानकारी अनुसार अहिलेघरि यस वन क्षेत्रमा विभिन्न समूहमा 112 वटा हात्तीहरू घुमिरहेका छन्। सुवर्णरेखा नदीको दक्षिणी भागमा रहेको नयाँग्राम, चाँदाबिला र केशवरखा रेञ्जमा करिब 40 वटा हात्तीहरू छन्। गत सोमवार नयाँग्रामबाट 47 वटा हात्तीको झुण्डलाई बाहिर निकालेर ओडिशा तर्फ फिर्ता पठाइएको वन विभागले जनाएको छ। तर बुधवार बिहान ओडिशादेखि 18 वटा हात्तीको ताजा झुण्ड केशवरखा पर्वत रेञ्जको बालिगेड़िया बीटमा प्रवेश गऱ्यो। यसै झुण्डको आक्रमणमा वृद्धको मृत्यु भएको हो।
वन विभागका एकजना अधिकारीले बिहीवार बिहान फोनमा मृतकको परिवारलाई सरकारी नियम अनुसार क्षतिपूर्ति दिने बताएका छन्। यस क्षेत्रमा हात्तीको आवागमनमाथि निरन्तर निगरानी राखिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा