
गान्तोक, 12 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको वाणिज्य कर विभागका तीन सदस्यीय अधिकारी टोलीले प्रविधिमा आधारित वस्तु तथा सेवा कर (जीएसटी) प्रशासनसम्बन्धी ज्ञान आदानप्रदान तथा उत्कृष्ट अभ्यासहरूको अध्ययन गर्न पश्चिम बंगालको वाणिज्य कर निर्देशनालय, कोलकाताको दुईदिने आधिकारिक भ्रमण गरेको छ।
५ र ६ नोभेम्बर, २०२६ मा सम्पन्न उक्त भ्रमण टोलीमा अतिरिक्त निर्देशक बिकास दियाली, उपआयुक्त प्रणय राई तथा सहायक निर्देशक वाङ्जर नामग्याल भोटिया सहभागी थिए।
भ्रमणका क्रममा पश्चिम बंगालको सूचना प्रणाली विभागद्वारा विकसित विभिन्न सूचना प्रविधिमा आधारित प्रणालीहरूबारे टोलीलाई जानकारी गराइएको थियो। यसअन्तर्गत जीएसटी ऐनको धारा ६१ अन्तर्गत छानबिनका लागि प्रयोग गरिने कर व्यवस्थापन प्रणाली (टीएमएस), ई-वे बिल विश्लेषण, कार्यान्वयनसम्बन्धी मोड्युल, ट्याब्लोमा आधारित तथ्याङ्क विश्लेषण तथा सम्बन्धित अधिकारीहरूले गरेका कारबाहीको अनुगमन गर्ने ‘माई टास्क’ मोड्युल समावेश थिए।
टोलीले राजस्व परिचालन प्रकोष्ठका अधिकारीहरूसँग पनि अन्तरक्रिया गरेको थियो। यस क्रममा दुवै राज्यका अधिकारीहरूले इनपुट ट्याक्स क्रेडिट (आईटीसी) को गलत दाबी तथा हस्तान्तरण, अन्तरराज्यीय कारोबार र कर छलीका नयाँ प्रवृत्तिसम्बन्धी व्यावहारिक घटनाहरू तथा अनुभवहरू आदानप्रदान गरे।
यसका साथै, साइबर फरेन्सिक प्रयोगशालाको भ्रमण तथा ठूला करदाता एकाइ र पार्क स्ट्रिट क्षेत्राधिकारका लेखापरीक्षण टोलीसँगको अन्तरक्रियाबाट डिजिटल प्रमाणहरूको परीक्षण र जोखिममा आधारित जीएसटी लेखापरीक्षण अभ्यासबारे जानकारी प्राप्त गरिएको थियो।
कार्यक्रमले कर अनुपालन सुदृढ बनाउन, कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन तथा राजस्व परिचालन वृद्धि गर्न तथ्याङ्क विश्लेषण, स्वचालन र अन्तरराज्यीय समन्वयको महत्त्वलाई उजागर गरेको छ।
सिक्किम सरकारको वाणिज्य कर विभागले भ्रमणका क्रममा प्रस्तुत गरिएका सान्दर्भिक प्रणाली तथा उत्कृष्ट अभ्यासहरूको अध्ययन गरी राज्यको जीएसटी प्रशासनिक संरचनामा तिनलाई सम्भावित रूपमा लागू तथा अनुकूलन गर्ने विषयमा विचार गर्ने जनाएको छ।भ्रमण टोलीले सहयोग, महत्त्वपूर्ण प्राविधिक प्रस्तुति तथा न्यानो आतिथ्यका लागि पश्चिम बंगालको वाणिज्य कर निर्देशनालयप्रति आभार व्यक्त गरेको छ। भ्रमणको समापनमा निर्देशनालयले आगन्तुक टोलीको सम्मानमा औपचारिक रात्रिभोजको आयोजना गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल