
नयाँ दिल्ली, १२ नोभेम्बर (हि.स.)। दिल्लीमा वायु प्रदूषणको स्तर चिन्ताजनक अवस्थामा रहेको छ। बिहिवार दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३१३ मापन गरिएको छ, जुन ‘अत्यन्त खराब’ श्रेणीमा पर्दछ। अर्कोतर्फ, पहाड़ी क्षेत्रमा हिमपात र मैदानी क्षेत्रमा छिटपुट वर्षा हुने सम्भावना रहेको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को पछिल्लो तथ्याङ्क अनुसार राजधानी बाहेक एनसीआरका अन्य शहरहरूमा पनि वायुको गुणस्तर खराब रहेको छ। गाजियाबादमा एक्यूआई २९७, नोएडामा २९१ र ग्रेटर नोएडामा २५७ मापन गरिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार, दिल्ली–एनसीआरमा आगामी तीन दिनसम्म बिहानको समयमा धुवाँ वा हल्का कुहिरो लाग्ने सम्भावना छ। १३ नोभेम्बरमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस रहने सम्भावना छ। १४–१५ नोभेम्बरमा तापक्रममा केही गिरावट आउनुका साथै अधिकतम तापक्रम २६ देखि २९ डिग्री र न्यूनतम तापक्रम १५ देखि १८ डिग्री सेल्सियससम्म रहन सक्नेछ।
मौसम विभागले कश्मीर क्षेत्र र वरपरको तल्लो क्षोभमण्डलमा एउटा पश्चिमी विक्षोभ सक्रिय रहेको जनाएको छ। यसको प्रभावस्वरूप १३ नोभेम्बरमा जम्मू-कश्मीर, लद्दाख, गिलगित-बाल्टिस्तान र मुजफ्फराबादमा व्यापक वर्षा तथा हिमपात हुने सम्भावना छ। साथै, १४ नोभेम्बरसम्म प्रतिघण्टा ४० देखि ६० किलोमिटरको गतिमा तीव्र हावा चल्ने अनुमान गरिएको छ।
यस बाहेक १३ देखि १५ नोभेम्बरबीच हिमाचल प्रदेश र उत्तराखण्डमा छिटपुट वर्षा तथा आँधीबेहरी आउने सम्भावना छ। मैदानी क्षेत्रमा १३ नोभेम्बरमा पञ्जाब र १४–१५ नोभेम्बरमा पश्चिमी राजस्थानका केही स्थानमा हल्का वर्षा र तीव्र हावा चल्नसक्छ।
मौसम विभाग अनुसार, मध्य अण्डमान र वरपरका क्षेत्रमा बनेको चक्रवाती परिसञ्चरणको प्रभावले १३ नोभेम्बर वरपर दक्षिणपूर्वी बंगालको खाड़ीमा न्यून चापीय क्षेत्र बन्ने सम्भावना छ। यो उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै १४ नोभेम्बरमा स्पष्ट न्यून चापीय क्षेत्रमा परिणत हुने अनुमान गरिएको छ। यसका कारण १३ देखि १८ नोभेम्बरसम्म अण्डमान तथा निकोबार द्वीप समूहमा व्यापक वर्षा हुनुका साथै १६ नोभेम्बरसम्म केही स्थानमा भारी वर्षा र तीव्र हावा चल्ने सम्भावना छ। त्यस्तै, १५ देखि १८ नोभेम्बरबीच पूर्वोत्तरका यी राज्यहरूमा पुनः छिटपुट वर्षा हुने क्रम देखिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी