वायु सेनाका कमाण्डरहरू कामिकेज ड्रोन सञ्चालनका लागि सधैँ तयार रहनुहोस् : राजनाथ सिंह
नई दिल्ली में एयरफोर्स कमांडर्स कॉन्फ्रेंस को संबोधित करते हुए रक्षा मंत्री


नयाँ दिल्ली, १२ नोभेम्बर (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले बिहिवार सेनाहरूलाई तीव्र गतिमा भइरहेको प्रविधिको विकास र आधुनिक युद्धको बदलिँदो प्रकृतिबाट उत्पन्न परम्परागत तथा नयाँ खतरा विरुद्ध सञ्चालनगत तयारी कायम राख्न ‘अप्रत्याशित आक्रमणको तत्त्व’ (एलिमेन्ट अफ सरप्राइज) लाई बलियो बनाइराख्न आग्रह गरेका छन्। उनले गुप्तचर तथा निगरानी क्षमतालाई निरन्तर सुदृढ़ बनाउने, विभिन्न प्रणालीबीच समन्वय बढ़ाउने र सम्भावित खतराहरू देखा पर्नुअघि नै पहिचान गर्ने आवश्यकतामा पनि जोड दिएका छन्। साथै, उनले सैन्य सञ्चालन, प्रशासन तथा एयरोस्पेस सुरक्षाका लागि विकसित एआई एप्लिकेशनहरू पनि सार्वजनिक गरेका छन्।

नयाँ दिल्लीमा आयोजित वायुसेना कमाण्डर सम्मेलनलाई सम्बोधन गर्दै उनले निगरानी तथा किउन्टर-ड्रोन अभियानका लागि उच्चस्तरको तयारी कायम राख्न निर्देश दिएका छन्।

रक्षामन्त्रीले भने, हाम्रा रक्षा बलहरूले यस्ता क्षमता र कार्यशैली विकास गर्नुपर्छ, जसले शत्रुलाई प्रतिक्रिया जनाउने वा सम्हालिने समय नै नदियोस्। साथै, शत्रुको कुनै पनि आकस्मिक गतिविधिबाट हामी कहिल्यै आश्चर्यचकित हुनुहुँदैन भन्ने सुनिश्चित गर्नुपर्छ। अप्रत्याशित आक्रमण विभिन्न प्रकारका हुन सक्छन्, परम्परागत तथा विद्युतीय दुवै माध्यमबाट। हाम्रो गुप्तचर तथा निगरानी प्रणालीलाई अझ् बलियो बनाउनुपर्छ र सञ्चालनगत तयारी बढ़ाउनुपर्छ, ताकि हाम्रा सुरक्षाकर्मीहरू कुनै पनि नयाँ चुनौतीको प्रभावकारी जवाफ दिन सतर्क, चुस्त र तयार रहून्।

राजनाथ सिंहले आजकलका युद्धहरू परम्परागत युद्धमैदानभन्दा बाहिर फैलिँदै गैर-सम्पर्क क्षेत्रमा समेत विस्तार भइरहेको बताए। यसमा मिसाइल, ड्रोन तथा उन्नत हतियार प्रणालीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। रुस–युक्रेन तथा इजरायल–हमास युद्धको उल्लेख गर्दै उनले ड्रोन र हवाई रक्षा प्रणाली आधुनिक युद्धका आवश्यक हिस्सा बनेर देखा परेको बताए।

रक्षामन्त्रीले भारतीय वायुसेनालाई विद्युतीय, साइबर तथा अन्तरिक्ष लगायत युद्धका नयाँ क्षेत्रमा विशेष सिद्धान्त र संरचना विकास गर्न आग्रह गरे। यी क्षेत्रमा राम्रो तयारीले भविष्यका चुनौतीहरूको सामना गर्ने क्षमता बलियो बनाउने उनले जोड दिए।

उनले भविष्यका युद्धहरूमा विजय केवल विमानको सङ्ख्यामा मात्र नभई प्रविधिको परिष्कृत स्तर, प्रतिक्रिया दिने गति र तयारीको सटीकतामा समेत निर्भर रहने बताए। उनले कमाण्डरहरूलाई यी नयाँ चुनौतीहरूलाई मुख्य प्राथमिकतामा राख्दै सञ्चालनगत योजनामा समावेश गर्न ध्यान दिन आग्रह गरे।

राजनाथ सिंहले रक्षा बलहरू अहिले परिवर्तनको चरणबाट गुज्रिरहेको बताए। यसमा सङ्गठनात्मक संरचना, संयुक्त कार्यक्षमता तथा एकीकरण र सञ्चालन सम्बन्धी अवधारणा जस्ता महत्त्वपूर्ण क्षेत्रमा सुधार समावेश रहेको उनले बताए। बदलिँदो सुरक्षा वातावरण अनुसार निरन्तर परिवर्तन र सैन्य तयारीका लागि दूरदर्शी दृष्टिकोण आवश्यक रहेको पनि उनले उल्लेख गरे।

रक्षामन्त्रीले अपरेशन सिन्दूरका क्रममा तथा त्यसपछि आफ्ना सिद्धान्त र सञ्चालनका तरिकाहरू प्रभावकारी रूपमा लागू गर्दै वायुसेनाका योद्धाहरूलाई तोकिएका कार्यहरू सफलतापूर्वक पूरा गर्न देखाएको व्यावसायिकता, संयम र विवेकको प्रशंसा गरे।

उनले अपरेशनका क्रममा सिकिएका पाठहरू वायुसेनाको बदलिँदो सञ्चालनगत कार्यशैलीमा स्पष्ट रूपमा देखिएको बताए। यी अनुभवहरूले रक्षा बलहरूमा भइरहेको व्यापक परिवर्तनको गति र दिशा निर्धारण गरिरहेको पनि उनले उल्लेख गरे। सैन्य योजना तथा सञ्चालन सम्बन्धी कार्यलाई मार्गदर्शन गर्न सामूहिक प्रयास निरन्तर जारी रहनुपर्नेमा उनले जोड दिए।

वायुसेना कमाण्डर सम्मेलनमा रक्षा राज्यमन्त्री सञ्जय सेठ, वायुसेना प्रमुख एयर चिफ मार्शल आशुतोष दीक्षित, रक्षा सचिव राजेश कुमार सिंह, रक्षा उत्पादन सचिव सञ्जीव कुमार तथा रक्षा वित्त सचिव विश्वजीत सहाय पनि सहभागी भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande