टीएमसी सांसद अभिषेक ब्यानर्जीको घरबाहिर बुलडोजर चलाइयो, फुटपाथबाट हटाइयो अवैध निर्माण
अभिषेक के घर के सामने बुलडोजर एक्शन


कोलकाता, १२ नोभेम्बर (हि.स.)। तृणमूल कांग्रेस (टीएमसी) का राष्ट्रिय महासचिव तथा डायमण्ड हार्बरका लोकसभा सांसद अभिषेक ब्यानर्जी कालीघाटस्थित घरबाहिर बिहीबार बिहान कोलकाता नगर निगम (केएमसी) ले ठूलो कारबाही गरेको छ। सांसदको घर (१२१, कालीघाट रोड) बाहिर फुटपाथमा बाँसबाट बनाइएको अस्थायी संरचना (सेड) लाई बुलडोजर लगाएर भत्काइएको छ।

यस संरचनासँगै सांसदको घरको पर्खालको मुख्य प्रवेशद्वारबाहिर फुटपाथ ओगटेर लगाइएको फलामको गेटलाई पनि ग्यास कटरको सहायताले काटेर हटाइएको छ। उक्त गेट अवैध रूपमा फुटपाथ कब्जा गरेर लगाइएको आरोप छ।

अवैध निर्माण हटाउने क्रममा कुनै विरोध वा कानुन-व्यवस्था बिग्रने अवस्था उत्पन्न हुन नदिन सांसदको घरबाहिर ठूलो संख्यामा पुलिस बल तथा केन्द्रिय सुरक्षा बलका जवानहरू तैनाथ गरिएको थियो। शान्तिपूर्ण रूपमा सम्पन्न कारबाहीका क्रममा केएमसीका कर्मचारीहरूले बाँस तथा अन्य भग्नावशेष हटाएर फुटपाथ पूर्ण रूपमा सफा गरेका छन्।

यो विषय पछिल्ला केही दिनदेखि विवादमा थियो। स्थानीय मानिसहरूको गुनासो थियो कि फुटपाथमा बनाइएको उक्त सेड र गेटका कारण पैदल यात्रुहरूलाई आवतजावत गर्न समस्या भइरहेको थियो। गत शुक्रबार राति अभिषेकको जन्मदिनको उत्सवका क्रममा पनि उक्त सेडमुनि ठूलो भीड जम्मा भएको थियो, जसका कारण क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।

बुधबार साँझ पनि पुलिस उक्त सेड हटाउन अभिषेकको घर पुगेको थियो। यद्यपि, अभिषेकको कार्यालयका कर्मचारीहरूले आफैँ अस्थायी संरचना हटाउन शुरु गरेका थिए। कालीघाट तृणमूल कांग्रेसका प्रवक्ता अर्क नागले बुधबार साँझ यसबारे स्पष्टीकरण दिँदै अभिषेकलाई 'जेड प्लस' सुरक्षा प्राप्त हुँदा पुलिसकर्मीहरू बस्नका लागि राज्यको सुरक्षा निर्देशनालयले उक्त सेड निर्माण गरेको बताएका थिए।

नागका अनुसार राज्यमा सरकार परिवर्तन भएपछि अभिषेकको अतिरिक्त सुरक्षा फिर्ता लिइएको छ। त्यसैले अब उक्त सेडको कुनै आवश्यकता छैन। उनले भनेका थिए, यो सेड पुलिसले नै बनाएको थियो। अतिरिक्त सुरक्षा हटाइएकाले अभिषेकको तर्फबाट नै यसलाई हटाउने व्यवस्था भइरहेको छ।

यद्यपि, बिहीबार बिहानसम्म पनि सेड पूर्ण रूपमा हटाइएको थिएन। त्यसपछि नगर निगमको टोली बुलडोजरसहित घटनास्थलमा पुगेर उक्त संरचना भत्काएको र फुटपाथलाई अतिक्रमणमुक्त बनाएको हो।

यसैबीच, बुधबार दिउँसो अभिषेकले आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै पुलिसमाथि गम्भीर आरोप लगाएका थिए। उनले पुलिसका गाडीमार्फत आफ्नो घरबाहिर निगरानी (रेकी) भइरहेको दाबी गरेका थिए।

यस सम्पूर्ण कारबाहीलाई लिएर हालसम्म कालीघाट टीएमसी वा अभिषेकको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande