प्रधानमन्त्रीसहित विभिन्न नेताहरूले छठ पर्वको अवसरमा देशवासीलाई दिए शुभकामना
प्रतीकात्मक


नयाँ दिल्ली, १३ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला तथा रक्षामन्त्री राजनाथ सिंहलगायत सत्तापक्ष र विपक्षका विभिन्न नेताहरूले शुक्रबार छठ पर्वको पावन अवसरमा समस्त देशवासीलाई हार्दिक शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै चार दिवसीय लोकआस्थाको महापर्व छठको शुभारम्भका अवसरमा सबै देशवासीलाई हार्दिक शुभकामना दिएका छन्। उनले आज नहाय-खाय रहेको उल्लेख गर्दै सबै व्रतालुलाई नमन गरेका छन्। साथै, छठी मैयाको आशीर्वाद सबैमाथि रहोस् भन्ने कामना गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले छठ पूजा आस्था, परम्परा र प्रकृतिप्रतिको कृतज्ञताको महान् पर्व भएको बताएका छन्। भगवान् सूर्य र छठी मैयाको उपासनामा समर्पित यस पर्वले भक्ति, आत्मअनुशासन, पवित्रता र समर्पणको सन्देश दिने उनले बताएका छन्।

'नहाय-खाय' देखि 'खरना', निर्जला व्रत तथा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेसम्मका प्रत्येक परम्पराले जीवनमा अनुशासन, धैर्य र आध्यात्मिक पवित्रताको महत्त्व दर्शाउने उनको भनाइ छ। यस पर्वले प्रकृतिको संरक्षण, परिवारप्रतिको आत्मीयता तथा समाजमा आपसी सहयोग र सद्भाव कायम राख्न पनि प्रेरणा दिने उनले बताएका छन्। भगवान् सूर्य र छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, उत्तम स्वास्थ्य र समृद्धि छाओस् भन्ने उनले कामना गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले लोकआस्था, पवित्रता र अटुट श्रद्धाको महापर्व छठ आज नहाय-खायको पवित्र अनुष्ठानसँगै सुरु भएको बताएका छन्। भगवान् सूर्यको पूजा र छठी मैयाको वन्दनामा समर्पित यो पर्व भारतको समृद्ध आध्यात्मिक तथा सांस्कृतिक परम्पराको अनुपम प्रतीक भएको उनले उल्लेख गरेका छन्। साथै, छठी मैया र भगवान् सूर्यको कृपाले सबैको जीवनमा सुख, शान्ति, उत्तम स्वास्थ्य र समृद्धि छाओस् तथा सबैको मनोकामना पूरा होस् भन्ने कामना गरेका छन्।

केन्द्रिय गृहमन्त्री एवं सहकारितामन्त्री अमित शाहले जनआस्थासँग जोडिएको महापर्व छठ आज नहाय-खायसँगै शुरु भएको उल्लेख गर्दै विशेषगरी छठ व्रत गर्नेहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले छठी मैयाको आशीर्वाद सबैमाथि कायम रहोस् भन्ने कामना गरेका छन्।

केन्द्रिय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले नहाय-खायको पवित्र विधिसँगै छठ पर्व सुरु भएको उल्लेख गर्दै भगवान् सूर्यको आशीर्वाद सबैमाथि रहोस् भन्ने कामना गरेका छन्।

केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले नदीका किनारमा आस्थाको डुबुल्की र घरघरमा फर्सी तथा चामलको सुगन्धसँगै लोकआस्थाको महापर्व छठ शुरु भएको बताएका छन्। उनले भगवान् सूर्य र छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य कायम रहोस् भन्ने कामना गरेका छन्।

केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले छठी मैया र भगवान् भास्करको आशीर्वाद सबैमाथि निरन्तर कायम रहोस् भन्दै प्रत्येक घरपरिवार सुख, समृद्धि र आनन्दले भरिपूर्ण होस् भन्ने कामना गरेका छन्।

केन्द्रिय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावतले छठ पर्व लोकआस्था, पवित्रता र सूर्य उपासनाको प्रतीक भएको बताएका छन्। भगवान् सूर्य र छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, उत्तम स्वास्थ्य र समृद्धि छाओस् भन्ने उनले कामना गरेका छन्।

केन्द्रीय सामाजिक न्याय तथा अधिकारितामन्त्री डा. वीरेन्द्र कुमारले भगवान् भास्कर र छठी मैयाको कृपाले सबैको जीवनमा उन्नति, सुख, समृद्धि र प्रगति होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

यसैगरी, कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले भारतीय संस्कृतिको विशिष्ट विशेषता भनेको अस्ताउँदो सूर्यलाई पnनि उदाउँदो सूर्यसरह श्रद्धा र भक्तिका साथ पूजा गर्नु रहेको बताएका छन्। यस परम्पराले प्रकृतिसँगको गहिरो सम्बन्ध र जीवनका प्रत्येक चरणको सम्मान गर्नुपर्ने सन्देश दिने उनले उल्लेख गरेका छन्। छठ पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, खुसी, समृद्धि र आनन्द ल्याओस् भन्ने उनले कामना गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande