
गान्तोक, 13 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवासमा ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमका कार्यकारी सदस्यहरूसँग भेटघाट गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त भेटघाट आगामी ४९औँ योनेक्स-सनराइज अन्तरराज्यीय तथा अन्तरक्षेत्रीय जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ को तयारीमा केन्द्रित रहेको बताएका छन्।
मुख्यमन्त्रीले सिक्किमले आयोजना गर्ने यस प्रतियोगितामा देशभरका २८ राज्य र ५ केन्द्रशासित प्रदेशसहित कुल ३८ टोलीको सहभागिता रहने जानकारी गराएका छन्। उनले यति ठूलो स्तरको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउनु सिक्किमका लागि गौरव र प्रतिष्ठाको विषय भएको बताएका छन्।
यस प्रतियोगिताले राज्यको बढ्दो खेलकुद क्षमतालाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने, युवा ब्याडमिन्टन खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा खेलकुद प्रवर्द्धन र उदीयमान खेलाडीहरूको विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न तयारीमा जुटेका ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमका पदाधिकारी तथा सम्पूर्ण सम्बन्धित व्यक्तिहरूलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिता स्मरणीय र भव्य सफलताको रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल