तमिलनाडुमा बाल दिवसका अवसरमा ६१.८४ लाख विद्यार्थीलाई केक वितरण गरिने
61.84 लाख स्कूली विद्यार्थियों को दिए जाएंगे केक और शुभकामना कार्ड


- सरकारले विनियोजन गर्यो ९.२७ करोड रुपियाँ

चेन्नई, १३ नोभेम्बर (हि.स.)। तमिलनाडु सरकारले बाल दिवसको अवसरमा राज्यका सरकारी तथा सरकारी सहायता प्राप्त विद्यालयमा अध्ययनरत ६१.८४ लाख विद्यार्थीलाई केक र शुभकामना कार्ड वितरण गर्ने निर्णय गरेको छ। यसका लागि सरकारले ९.२७ करोड रुपियाँ विनियोजन गरेको छ।

१४ नोभेम्बर शनिबार परेकाले विद्यालयमा बिदा रहने हुँदा बाल दिवस समारोह शुक्रबार अर्थात् आजै आयोजना गरिँदैछ। मुख्यमन्त्री जोसेफ विजयले पनि विद्यार्थीहरूलाई केक र शुभकामना कार्ड वितरण गर्दै बाल दिवसको शुभकामना दिनेछन्।

विद्यालय शिक्षा विभागद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मुख्यमन्त्रीको निर्देशनमा सरकारी तथा सरकारी सहायता प्राप्त प्राथमिक, माध्यमिक, उच्च माध्यमिक र वरिष्ठ माध्यमिक विद्यालयका कुल ६१ लाख ८४ हजार ५६६ विद्यार्थीलाई केक वितरण गर्ने व्यवस्था गरिएको छ। प्रत्येक केकको तौल ४५ ग्राम निर्धारण गरिएको छ। यसका साथै विद्यार्थीहरूलाई बाल दिवसको शुभकामना लेखिएका कार्ड पनि प्रदान गरिनेछ।

केक खरिद तथा आपूर्तिका लागि तमिलनाडु नागरिक आपूर्ति निगममार्फत निविदा आह्वान गरिएको थियो। यस प्रक्रियाअन्तर्गत चारवटा कम्पनीलाई केक आपूर्तिको जिम्मेवारी दिइएको छ। खरिद गरिएका केक खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) द्वारा निर्धारित मापदण्डअनुसार तयार गरिएका छन्।

विद्यालय शिक्षा विभागले केकका नमुनाहरू खाद्य सुरक्षा तथा औषधि प्रशासन विभागका अधिकारीहरूबाट परीक्षण गराइएको जनाएको छ। गुणस्तर र सुरक्षाको सुनिश्चितता गरेपछि केकलाई स्वच्छ तथा सुरक्षित तरिकाले भण्डारण गरी विद्यालयसम्म पुर्याउने व्यवस्था गरिएको छ।

केकको सुरक्षित भण्डारण र वितरणका सम्बन्धमा प्रशासनले विशेष सतर्कता अपनाएको छ। तमिलनाडु नागरिक आपूर्ति निगमका गोदाम तथा विद्यालय परिसरमा मुसा, कीरा र अन्य सङ्क्रमणबाट जोगाउन सरसफाइ तथा सुरक्षाका पर्याप्त प्रबन्ध मिलाइएको छ।

यस सम्बन्धमा मुख्य शिक्षा अधिकारी, जिल्ला शिक्षा अधिकारी, खण्ड शिक्षा अधिकारी तथा नागरिक आपूर्ति निगमका क्षेत्रीय प्रबन्धकहरूले सम्बन्धित गोदाम र विद्यालयहरूको निरीक्षण गरेका छन्। यसबाहेक जिल्ला अधिकारी, जिल्ला अनुगमन अधिकारी तथा विशेष अनुगमन टोलीले पनि विद्यालयहरूमा केकको उचित र सुरक्षित वितरण भइरहेको सुनिश्चित गर्नेछन्।

विभागले बाल दिवसलाई विशेष बनाउन सबै विद्यालयमा विद्यार्थीहरूबीच केक र शुभकामना कार्ड वितरण गरिने जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande