पञ्चगङ्गा घाटबाट शुरु भएको काशीको देव दीपावलीले पायो विश्वव्यापी पहिचान, गङ्गाका घाटमा ११ लाख दीप प्रज्ज्वलन गरिने
प्रतीक


- अहिल्याबाई होल्करका निर्मित हजार दीपस्तम्भले बढाएको छ उत्सवको भव्यता, दक्षिण भारतीय ब्राह्मणहरूबाट प्राप्त भएको थियो दीपोत्सवको प्रेरणा

वाराणसी, १९ नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको धार्मिक नगरी काशीको देव दीपावलीले अब स्थानीय परम्पराको सीमाना पार गर्दै विश्वव्यापी पहिचान हासिल गरेको छ। पञ्चगङ्गा घाटबाट शुरु भएको यो विशिष्ट दीपोत्सव आज काशीको सांस्कृतिक विरासत र धार्मिक आस्थाको विश्वप्रसिद्ध प्रतीक बनेको छ। प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन गङ्गाका घाटहरूमा लाखौँ दीपको प्रकाशले यस्तो अलौकिक दृश्य प्रस्तुत गर्छ, मानौँ देवलोक नै धरतीमा ओर्लिएको हो। यस भव्य आयोजनामा प्रधानमन्त्री नरेन्द्र मोदी पनि यसअघि सहभागी भइसकेका छन्। यस वर्ष पनि देश तथा विदेशका मानिसहरूको ध्यान काशीको देव दीपावलीतर्फ केन्द्रित भएको छ।

पञ्चगङ्गा घाटबाट शुरु भएको परम्परा, दक्षिण भारतीय ब्राह्मणहरूबाट प्रेरणा

काशीका पुराना बासिन्दाहरूका अनुसार, देव दीपावलीको शुरुवात पञ्चगङ्गा घाटबाट भएको थियो। प्रारम्भिक समयमा स्थानीय बासिन्दाहरूको सहयोगमा घाटमा दीप प्रज्ज्वलन गरिन्थ्यो। पञ्चगङ्गा घाट, दुर्गा घाट र बिन्दु माधव मन्दिरका सिँढीहरूमा वर्षौंदेखि दक्षिण भारतीय ब्राह्मणहरूले दीप प्रज्ज्वलन गर्दै आएको देखेर माता मङ्गला गौरी मन्दिरका महन्त नारायण गुरुले यस परम्परालाई व्यापक स्वरूप दिने प्रयास गरेका थिए।

काशीको चौक क्षेत्रअन्तर्गत राजमन्दिर निवासी सामाजिक कार्यकर्ता तथा पत्रकार प्रवीण तिवारी ‘गुड्डू’ का अनुसार, १९८४ मा नारायण गुरुले यी घाटहरूमा देव दीपावलीको परम्परालाई व्यवस्थित स्वरूप दिने पहल गरेका थिए। १९८५ मा केन्द्रिय देव दीपावली समितिको गठन भएपछि यस आयोजनाले व्यापक स्वरूप प्राप्त गरेको थियो।

यसमा दशाश्वमेध घाटस्थित गङ्गा सेवा निधिका संस्थापक स्वर्गीय सत्येन्द्र मिश्र र प्राचीन शीतला घाटस्थित गङ्गोत्री सेवा समितिका अध्यक्ष पण्डित किशोरी रमण दुबे उर्फ बाबू महाराजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। देव दीपावलीको भव्यता बढाउन काशीका ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको पनि महत्त्वपूर्ण योगदान रहेको छ।

काशीमा देव दीपावलीलाई स्थापित गर्न रानी अहिल्याबाई होल्करको भूमिका विशेष रूपमा उल्लेखनीय रहेको छ। उनले पञ्चगङ्गा घाटमा ढुङ्गाबाट निर्मित भव्य ‘हजार दीपस्तम्भ’ निर्माण गराएकी थिइन्। यस दीपस्तम्भमा एकैपटक एक हजार एकभन्दा बढी दीप प्रज्ज्वलित गर्न सकिन्छ। दीपहरूले झिलिमिली हुने यो ऐतिहासिक स्तम्भले गङ्गाको किनारमा अद्भुत सुनौलो आभा फैलाउँछ। यसको प्रकाशमा पञ्चगङ्गा घाटको दृश्य कुनै दिव्यलोकजस्तै देखिन्छ। यो दृश्य अवलोकन गर्न ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्ने गर्छन्।

१९८६ मा काशीका पूर्व नरेश स्वर्गीय डा. विभूति नारायण सिंहले पञ्चगङ्गा घाटस्थित हजार दीपस्तम्भमा दीप प्रज्ज्वलन गरेर देव दीपावलीलाई विधिवत् रूपमा भव्य आयोजनाको स्वरूप प्रदान गरेका थिए।

कुण्ड, पोखरी र मन्दिरहरूसम्म फैलियो दीपोत्सव

देव दीपावलीलाई गङ्गाका घाटहरूमा मात्र सीमित नराखी सम्पूर्ण शहरकै उत्सव बनाउने दिशामा पनि प्रयास गरिएको थियो। केन्द्रिय देव दीपावली महासमितिका तत्कालीन अध्यक्ष स्वर्गीय पण्डित वागीश दत्त मिश्रले यस परम्परालाई विस्तार गर्न महत्त्वपूर्ण योगदान दिएका थिए।

महासमितिका पदाधिकारीहरूले शहरका विभिन्न कुण्ड तथा पोखरीहरूमा पनि दीपोत्सव आयोजना गर्ने पहल गरेका थिए। यसको उद्देश्य गङ्गाका घाटहरूमा बढ्ने भीडको चाप कम गर्नुका साथै बढीभन्दा बढी मानिसहरूलाई यस उत्सवसँग जोड्नु थियो।

१९९५ पछि देव दीपावलीले व्यापक जनसमर्थन प्राप्त गर्न थाल्यो। शहरका विभिन्न सामाजिक सङ्गठन, समाजसेवी तथा स्थानीय बासिन्दाहरूले पनि यसमा उत्साहपूर्वक सहभागिता जनाउन थाले। क्रमशः यो आयोजनाले काशीको विशिष्ट पहिचान प्राप्त गर्दै देश तथा विदेशमा प्रसिद्धि हासिल गर्‍यो।

त्रिपुरासुर वधसँग जोडिएको छ देव दीपावलीको पौराणिक मान्यता

काशीको देव दीपावलीको धार्मिक महत्त्व पनि विशेष रहेको छ। धार्मिक मान्यताअनुसार, कार्तिक पूर्णिमाका दिन भगवान् शिवले त्रिपुरासुर नामक अत्याचारी राक्षसको वध गरी तीनै लोकलाई उसको आतङ्कबाट मुक्त गराएका थिए। त्यसपछि भगवान् शिवको विजयको खुशीमा देवताहरूले दीपोत्सव मनाएका थिए। त्यसै समयदेखि कार्तिक पूर्णिमालाई देव दीपावलीका रूपमा मनाउने परम्परा शुरु भएको विश्वास गरिन्छ।

यससँग सम्बन्धित अर्को पौराणिक कथा महर्षि विश्वामित्र र त्रिशङ्कुसँग जोडिएको छ। कथाअनुसार, महर्षि विश्वामित्रले आफ्नो तपोबलबाट त्रिशङ्कुलाई सशरीर स्वर्ग पठाउने प्रयास गरेका थिए। यसबाट क्रोधित देवताहरूले त्रिशङ्कुलाई पुनः पृथ्वीमा फर्काउन चाहेका थिए। तर, विश्वामित्रले उनलाई आकाशमै रोकेर नयाँ सृष्टि तथा स्वर्गको रचना गर्न थालेका थिए। पछि देवताहरूको अनुरोधमा महर्षिले उक्त कार्य रोकेका थिए। यसबाट प्रसन्न भएका देवताहरूले दीपोत्सव मनाएको धार्मिक कथा प्रचलित छ।

यस वर्ष २४ नोभेम्बरमा मनाइने देव दीपावलीलाई अन्तरराष्ट्रिय स्तरमा भव्य स्वरूप प्रदान गर्न विशेष तयारी गरिएको छ। आयोजनाका क्रममा काशीका गङ्गा घाटहरूमा करिब ११ लाख दीप प्रज्ज्वलन गर्ने तयारी गरिएको छ। दीपको प्रकाशले घाटहरूलाई सजाउनुका साथै भव्य गङ्गा आरती, लेजर प्रदर्शन, आतिशबाजी, ड्रोन प्रदर्शन तथा गङ्गा महोत्सवलगायत विभिन्न आकर्षक कार्यक्रम आयोजना गरिनेछन्।

यस वर्षको सबैभन्दा ठूलो आकर्षण दुई हजार एक सय स्वदेशी ड्रोनको प्रदर्शन हुनेछ। लाखौँ दीपको झिलिमिलीका बीच आकाशमा यी ड्रोनमार्फत भगवान् भोलेनाथ, शिव ताण्डव, गङ्गाको अवतरण तथा काशी विश्वनाथका भव्य आकृतिहरू प्रस्तुत गरिनेछन्।

करिब १५ मिनेटसम्म चल्ने यस आधुनिक प्रविधियुक्त प्रदर्शनमा सङ्गीत र आवाजको समन्वयमार्फत काशीको पौराणिक तथा आध्यात्मिक विरासतलाई जीवन्त बनाइनेछ। उत्तर प्रदेश पर्यटन विभागद्वारा आयोजित यस ड्रोन प्रदर्शनको विषयवस्तु ‘देव दीपावली’ रहनेछ। यसमा भगवान् शिव, महेश्वर सूत्र, सङ्गीतमय शिव ताण्डव तथा माता गङ्गाको धरतीमा अवतरणका दृश्यहरू आकाशमा साकार गरिनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande