सिक्किम साहसिक पर्यटन महोत्सवअन्तर्गत पहिलो रिले एडभेन्चर सफलतापूर्वक सम्पन्न
सिक्किम साहसिक पर्यटन महोत्सवअन्तर्गत पहिलो रिले एडभेन्चर सफलतापूर्वक सम्पन्न


नाम्ची, ०२ नोभेम्बर (हि.स.)। सिक्किम साहसिक पर्यटन महोत्सव (एसएटीएफ) २०२६ अन्तर्गत पहिलो रिले एडभेन्चर सोमबार नाम्ची जिल्लाको नामथाङस्थित लिङ्खिमटारमा दिउँसो १ः४० बजी सफलतापूर्वक सम्पन्न भएको छ। आकाश, जमिन र जल गरी तीनै माध्यममा सञ्चालन गरिएको यस बहुविध साहसिक यात्रामा सहभागी टोलीले निर्धारित सबै चरण पूरा गरेको छ।

रिले एडभेन्चरको अन्तिम चरणमा टिस्टा नदीमा र्‍याफ्टिङ आयोजना गरिएको थियो। दुईवटा र्‍याफ्टमा आठ जना सहभागी र दुई जना मार्गदर्शकका दरले यात्रा गरिएको थियो। सुरक्षाका लागि एउटा कायकसमेत साथमा रहेको थियो। दिउँसो १२ः४५ बजी रम्फूस्थित अटल सेतुबाट शुरु भएको जलयात्रामा सहभागीहरूले टिस्टा नदीको तीव्र बहाव र चुनौतीपूर्ण छालहरूको सामना गर्दै सफलतापूर्वक लिङ्खिमटार पुगेका थिए।

यसअघि रिले एडभेन्चरको शुरुआत गान्तोक हेलिप्याडबाट हेलिकप्टर यात्रामार्फत गरिएको थियो। समुद्री सतहबाट करिब १ हजार ६५० मिटर उचाइमा रहेको गान्तोक हेलिप्याडबाट सहभागीहरूलाई पाकिमको ग्रीनफिल्ड विमानस्थल पुर्‍याइएको थियो।

त्यहाँबाट सहभागी टोली रोमाञ्चक जिप यात्रामार्फत थुम्कीडाँडा पुगे। जहॉंबाट प्याराग्लाइडिङमार्फत आकाशमा उडान भर्दै मनोरम प्राकृतिक दृश्यको अवलोकन गरेका सहभागीहरू रोडाथाङमा अवतरण गरेका थिए।

त्यसपछि सडकमार्ग हुँदै रम्फू पुगेको टोलीले टिस्टा नदीको तीव्र बहाव र चुनौतीपूर्ण छालहरू पार गर्दै लिङ्खिमटारस्थित महोत्सवको मुख्य स्थलमा पुगेपछि पहिलो रिले एडभेन्चर सफलतापूर्वक सम्पन्न भएको थियो।

लिङ्खिमटार पुगेका सहभागीहरूलाई पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त निर्देशक एवं भारतीय हिमालय पर्वतारोहण तथा साहसिक पर्यटन संस्थान (आईएचसीएई) का प्राचार्य काजी शेर्पा र साहसिक पर्यटन प्रकोष्ठका उपनिर्देशक मनोज छेत्रीले स्वागत गरे। त्यसपछि सहभागीहरू महोत्सवअन्तर्गत आयोजित अन्य साहसिक गतिविधिहरूमा समेत सहभागी बनेका थिए।

उल्लेखनीय छ, सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित सिक्किम साहसिक पर्यटन महोत्सव १ देखि ७ नोभेम्बर, २०२६ सम्म नाम्ची जिल्लाको नामथाङस्थित लिङ्खिमटटारमा सञ्चालन भइरहेको छ। एक सातासम्म चल्ने यस महोत्सवमा आकाश, जमिन र जलमा आधारित विभिन्न साहसिक गतिविधिहरू समावेश गरिएका छन्। महोत्सवले साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा सिक्किमको सम्भावना र पर्यटन आकर्षणलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande