
जलपाइगढ़ी, ०२ नोभेम्बर (हि.स.)। जलपाइगढ़ी शहरमा अपराध शाखाको नक्कली अधिकारी बनेर दुई बदमाशले दिनदहाड़ै एक व्यक्तिबाट लगभग साढ़े पाँच लाख रुपियाँ मूल्यका सुनका गहना ठगी गरेका छन्। घटना जिल्ला परिषद् परिसर नजिक भएको हो।
जानकारी अनुसार, देशबन्धुनगर निवासी तथा जिल्ला परिषद् परिसरमा क्यान्टिन सञ्चालन गर्ने रथीन कुण्डु सोमवार स्कुटीमा क्यान्टिन जाँदै गर्दा हेल्मेट लगाएका दुई मोटरसाइकल सवारले उनको बाटो रोके। उनीहरूले आफूलाई अपराध शाखाका अधिकारी बताउँदै परिचयपत्र समेत देखाए।
शहरमा चोरी तथा लुटपाटका घटना बढ़ेको भन्दै उनीहरूले कुण्डुलाई घाँटीको सिक्री र औँठी खोल्न लगाए।
त्यसपछि चार वटा सुनका औँठी र दुईवटा सिक्री कागजमा बेरेर उनको खल्तीमा राखिदिए। क्यान्टिन पुगेपछि कागज खोलेर हेर्दा सुनका गहनाको सट्टा ढुङ्गा भेटिएपछि आफू ठगीमा परेको उनले थाहा पाए।
आरोपीहरूले अर्का एक मोटरसाइकल चालकलाई पनि निशाना बनाएको बताइएको छ। घटनाबारे कोतवाली थानामा लिखित उजुरी दर्ता गरिएको छ। पुलिसले सीसीटीभी फुटेजको जाँच गर्दै घटनाको अनुसन्धान गरिरहेको छ। यसमा अन्य राज्यको कुनै व्यावसायिक ठगी गिरोह संलग्न रहेको हुनसक्ने पुलिसको प्रारम्भिक आशङ्का छ।
/ बिशाल